×

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला भक्तपुरको मध्यपुरथिमीस्थित बोडेमा जारी छ। महासङ्घको केन्द्रीय समितिको आयोजनामा र नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा शनिबार बिहानदेखि सुरु भएको यो भेलाले पत्रकार महासङ्घभित्रको सदस्यता विवाद समाधान गर्ने विषयमा छलफल गरिरहेको छ।

महासचिव रोशन पुरीका अनुसार, सदस्यतासम्बन्धी विवादका कारण पटकपटक निर्वाचन मिति सार्दा अन्योल सिर्जना भएको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको भेलाले समस्या समाधानका उपाय खोज्ने उद्देश्यले गहन छलफल सुरु गरेको हो।

यसअघि, सदस्यतासम्बन्धी विवादलाई समाधान गर्न पत्रकार महासङ्घका ५३ जिल्लाका अध्यक्षहरूले केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय भेला गर्न माग गरेका थिए। कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको यो भेलामा विभिन्न जिल्लाबाट सहभागी अध्यक्षहरूको उपस्थिति रहेको छ। साथै, विपद्को कारणले उपस्थित हुन नसकेका अध्यक्षहरूसँग ‘भर्चुअल’ माध्यमबाट परामर्श गरिएको छ।

भेलामा पूर्वकेन्द्रीय अध्यक्षहरू डा. सुरेश आचार्य, डा. महेन्द्र बिष्ट, र तारानाथ दाहाललगायतको पनि सहभागिता रहेको छ। बैठकमा निर्वाचन मिति र सदस्यता विवाद समाधानका विभिन्न प्रस्तावहरूमा छलफल भइरहेको महासचिव पुरीले जानकारी दिएका छन्।

भक्तपुर शाखाका अध्यक्ष जगतकृष्ण प्रजापतिले जिल्ला शाखाले सर्वसम्मत रूपमा पारित गरेको नामावलीलाई प्रदेशले अनुमोदन गरेको नामावली मान्यता दिनुपर्ने, विधानविपरीत स्थानान्तरण गरिएका सदस्यता स्वतः रद्द हुनुपर्ने, र आगामी पुस २० गतेभित्र निर्वाचन गरिनुपर्ने प्रस्ताव राखेका छन्।

यस भेलाले महासङ्घभित्रको सदस्यता विवादको अन्त्य गर्दै आगामी निर्वाचनको स्पष्ट मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।

Back to top