×

चितवन। सहकारी ठगी प्रकरणमा संसदीय समितिको कारबाही सिफारिसमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कार्यक्रमहरूमा लगातार विरोध प्रदर्शन भइरहेका छन्। लामिछानेले सहभागिता जनाएका कार्यक्रममा सहकारी पीडितहरूले आफ्नो पैसा फिर्ता हुनुपर्ने माग राख्दै आन्दोलन चर्काउँदै आएका छन्।

शुक्रबार मुग्लिङमा लामिछानेलाई कालो झण्डा देखाइएको घटनाको भोलिपल्ट नै भरतपुरस्थित नारायणी कला मन्दिरमा आयोजित रास्वपाको प्रशिक्षण कार्यक्रमका क्रममा पुनः विरोध प्रदर्शन भएको छ। सहकारी पीडितहरूले लायन्स चोकबाट सुरु गरेको विरोध नारायणी कला मन्दिर अगाडि पुगेपछि मन्दिरभित्र रहेका रवि लामिछानेका समर्थकहरूले प्रदर्शनकारीमाथि ढुंगा र पानीका बोतल प्रहार गरेका छन्।

सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीका अनुसार प्रदर्शनका क्रममा झडपको स्थिति सिर्जना भएको थियो। झडपपछि प्रहरीको हस्तक्षेपमा सहकारी पीडितहरूलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले प्रदर्शनकारीले कार्यक्रमस्थलमा अशान्ति फैलाएको दावी गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको बताएको छ।

रास्वपाले भने यो घटनाको पछाडि नेपाली कांग्रेस र नेकपा एमालेका स्थानीय कार्यकर्ता रहेको आरोप लगाएको छ। रास्वपाका अनुसार यी पार्टीहरूले लामिछानेको कार्यक्रम बिथोल्न प्रयास गरेका हुन्। सभापति लामिछानेको सचिवालयले कार्यक्रम सुरु हुने समयमा कलामन्दिरमा एक हुल मानिसले जबरजस्ती प्रवेश गर्न खोजी ढुंगा प्रहार गरेको दावी गरेको छ।

सहकारी पीडितहरूले भने आफ्ना समस्या सुनुवाई नभएको भन्दै रवि लामिछानेविरुद्ध लगातार विरोध प्रदर्शन जारी राखेका छन्।

Back to top