×

वीरगञ्ज। पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकामा राष्ट्रिय मुक्ति क्रान्ति पार्टीद्वारा जारी सातौं दिनको अनिश्चितकालीन धर्ना कार्यक्रम आज सम्पन्न भएको छ। धर्ना पोखरिया अस्पतालको प्रादेशिक स्तरमा स्तरोन्नति र विभिन्न सरकारी कार्यालयहरूको स्थापनाको माग गर्दै पोखरिया अस्पताल परिसरमा दिउँसो १ बजेदेखि ३ बजेसम्म सम्पन्न भएको हो।

धर्नामा राष्ट्रिय मुक्ति क्रान्तिका जिल्ला संयोजक राजेश साह, महिला नेतृ आसा चौहान, शिव साह तेली, युवा नेता लालकिशोर पटेल, राजेश्वर चौहान, मुस्ताक आलमसहित विभिन्न गाउँबाट आएका महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

धर्ना कार्यक्रममा बोल्दै संयोजक साहले प्रदेश सरकारका मुख्य मन्त्री वा संघीय सरकारका मन्त्रीहरू नआएसम्म धर्ना जारी राखिने चेतावनी दिए। उनले पटक–पटक काठमाडौं र जनकपुरमा ध्यानाकर्षण गराउँदा पनि मागहरू पुरा नभएपछि बाध्य भएर तीनै तहका सरकारविरुद्ध संघर्षको कार्यक्रम अघि बढाइएको बताए।

पर्सा जिल्लाको पोखरिया नगरपालिकामा सरकारी कार्यालयहरूको स्थापनार्थ र पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउने माग गर्दै यसअघि पनि विभिन्न चरणमा संघर्षका कार्यक्रमहरू आयोजना गरिएको थियो।

Back to top