×

हेटौँडा। मकवानपुरको हेटौँडा वडा नम्बर १५ स्थित रातोमाटे चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको छ। यस सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीले सो सुन सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत महाराष्ट्रको सांगली जिल्ला, दिघंची थाना अन्तर्गत पुजारवाडीका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र सोही स्थानका २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काका अनुसार, असोज १९ गते बिहान ३ बजे विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले हेटौँडा–१५ स्थित रातोमाटे चेकपोष्टमा पूर्व–पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौँडा जाँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा सुन बरामद भएको हो।

एसपी खड्काका अनुसार, शङ्काको आधारमा स्कुटर रोकेर चेकजाँच गर्दा बाड र कुटीले शरीरका विभिन्न भागमा लुकाएर सुन ल्याएको भेटिएको थियो। उनीहरूले टेपको सहायताले बाँधेर रुमालले बेरेर बिस्कुट आकारका ८ थान सुन लुकाएर ल्याइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

Back to top