×

फाईल फोटो

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर १९, विन्ध्यवासिनी क्षेत्रमा वाणिज्य कार्यालय, पर्साको नेतृत्वमा शुक्रबार भएको अनुगमनमा चार पसललाई कारबाही गरिएको छ। चाडपर्वको अवसरलाई ध्यानमा राख्दै वाणिज्य कार्यालय, महानगरपालिका, र सुरक्षाकर्मीहरूको संयुक्त टोलीले अनुगमन सम्पन्न गरेको हो।

अनुगमनका क्रममा होटल तथा पसलहरूमा गुणस्तर, मूल्य नियन्त्रण र स्वच्छतासम्बन्धी नियमहरूको पालनामा चासो दिइएको थियो। चार पसलमा विभिन्न अनियमितता फेला परेपछि ती पसललाई कारबाही गरी कूल ३५ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको वाणिज्य कार्यालयले जानकारी दिएको छ।

कारबाहीमा परेका पसलहरूले उपभोक्ता अधिकार र सरसफाइ मापदण्ड उल्लङ्घन गरेको पाइएको छ। वाणिज्य कार्यालयका अधिकारीहरूले उपभोक्ताको सुरक्षाका लागि यस प्रकारका अनुगमनहरू निरन्तर गरिने बताएका छन्। चाडपर्वको समयमा उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउन अनुगमनको आवश्यकता महत्त्वपूर्ण रहेको भन्दै स्थानीय व्यवसायीलाई सचेत रहन पनि आग्रह गरिएको छ।

Back to top