×

रौतहट। नेपालीहरूको महान् चाड बडादसैँको सुरुवातसँगै रौतहटमा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ। यो सुरक्षा योजना कात्तिक २३ गतेसम्म, अर्थात् छठ पर्वसम्मको लागि लागू गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुरक्षा योजना अन्तर्गत जिल्लाभर ६९१ प्रहरी परिचालन गरिने छ। यात्रु सहायता कक्ष स्थापना गरी गौर र चन्द्रपुर बसपार्कमा आठ जना प्रहरीहरू खटाइएको छ। यससँगै चन्द्रपुर, गौर बसपार्क, कोप्वा पिपरिया, बमनाहरसहित चार स्थानमा लामो दूरीको सवारीसाधन चेकजाँच गरिने छ।

प्रहरीले गौर, चपुर, गरुडा, मौलापुर, विजयपुर, लक्ष्मीनियालगायतका सात स्थानमा बैंक तथा वित्तीय संस्थाहरूको सुरक्षाका लागि विशेष टोली परिचालन गरिने जानकारी दिएको छ।

धार्मिक स्थलहरूको सुरक्षा थप मजबुत बनाउन राजदेवी मन्दिर, गंगापिपरा, गौर र राजपुरमा सुरक्षा टोलीहरू परिचालन गरिने छ भने बेलबिछवा, गौर भन्सार, बन्जरहा, जयनगर, औरैया, मठिया, बंकुलसहित १० स्थानमा सिमाना क्षेत्रमा चोरी तस्करी नियन्त्रणका लागि प्रहरीहरू परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामकुमार महतोका अनुसार यस चाडपर्वको समयमा सम्भावित अपराध नियन्त्रण गर्न र जनतालाई सुरक्षित यात्रा अनुभव गराउन सुरक्षा योजना लागू गरिएको हो।

Back to top