×

बारा। बारा प्रहरीले २१ लाख १६ हजार ५३३ रुपैयाँ बराबरको तामाको भाँडो बरामद गरेको छ। पथलैया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सो भाँडो नियन्त्रणमा लिएको हो।

प्रहरी वरिष्ठ नायब निरीक्षक नरेश बहादुर शाहीको कमाण्डमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पथलैया चोकमा प्रदेश २–०३–००१ च ५९३१ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा शंकास्पद वस्तु बरामद गरेको हो।

जीतपुरबाट काठमाडौंतर्फ जाँदै गरेको पिकअप गाडीमा रहेको तामाका भाँडाका सामानको बिल-बिजकभन्दा बढी मात्रामा वस्तु रहेको पाइएपछि प्रहरीले त्यसको स्रोत खुलाउन माग गरेको थियो। स्रोत पुष्टि गर्न नसकेपछि सो गाडीमा लोड गरिएको तामाको भाँडा प्रहरीले नियन्त्रणमा लिएको हो।

बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार एक पिकअप लोड पलेट र तामाको भाँडा नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ।

प्रहरीले नियन्त्रणमा लिएको गाडी र सामानको थप अनुसन्धान भइरहेको जनाएको छ।

Back to top