×

बलरा, सर्लाही । अविरल वर्षासँगै आएको बाढीमा डुबेर मृत्यु भएका दुई जनाका परिवारलाई बलरा नगरपालिकाले जनही एक लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ।

बलरा नगरपालिका–१ का २८ वर्षीय पवन गिरी, जो सीमापारी भारतीय बजार बसविटाबाट किनमेल गरी घर फर्कंदै थिए, अकस्मात आएको बाढीमा डुबेर ज्यान गुमाएका थिए। उम्कने मौका नपाएका गिरीको शव बाढी आएको तीन दिनपछि मात्रै फेला परेको थियो।

त्यसैगरी, वडा नं. ३ लक्ष्मिपुरका अंकित ठाकुरको पनि बाढीका कारण डुबेर मृत्यु भएको थियो। ठाकुरको शव चार दिनपछि फेला परेको हो।

नगरप्रमुख रामाशंकर कुशवाहाले मृतक दुवै परिवारलाई तत्काल क्रिया खर्चका लागि २५ हजार रुपैयाँ नगद सहयोग गरेका थिए। बाँकी ७५ हजार रुपैयाँ भने चाँडै मृतक परिवारका बैंक खातामा पठाइने जानकारी नगरपालिकाले दिएको छ।

नगर कार्यपालिकाले गरेको निर्णय अनुसार, बाढी पीडित परिवारलाई तत्काल राहत प्रदान गर्न यो कदम चालिएको हो। बाढीले परिवारमा पारेको अपूरणीय क्षतिलाई पूर्ति गर्न नगद सहयोगले केही राहत दिनसक्ने नगरप्रमुख कुशवाहाले विश्वास व्यक्त गरेका छन्।

बलरा नगरपालिकाले बाढी प्रभावित क्षेत्रका अन्य पीडितलाई पनि तत्काल राहत र पुनर्स्थापनाका लागि पहल गरिरहेको जनाएको छ।

Back to top