×

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रियाहरू पूरा गर्न निर्देशन दिएका छन् । आज काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) मा फोहोर पानी आधारित निगरानी प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् । 

उद्घाटन सत्रमा मन्त्री यादवले भने, “राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा ललितपुर जिल्लामा खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन र अन्य आवश्यक प्रक्रियाहरू पूरा गर्नुहोस् ।”

जिटुजी कार्यक्रमअन्तर्गत सिस्नेरी खानेपानी आयोजनाको कार्यान्वयनका लागि सम्भावनाहरूको पहिचान गर्न पनि मन्त्री यादवले निर्देशन दिएका छन् । मन्त्री यादवले नेपालमा पहिलो पटक फोहोर पानी आधारित निगरानी प्रणालीको लागि तयार गरिएको प्रयोगशालामा खुसी व्यक्त गर्दै भने, “यो प्रणाली प्रारम्भिक चेतावनी प्रणालीको रूपमा कार्य गर्नेछ, जसको ठूलो महत्त्व छ । हाल यो प्रणालीले केही रोगहरूको मात्र अध्ययन गर्नेछ, तर यसको थप विकास आवश्यक छ ।”

उक्त प्रयोगशाला आजदेखि सञ्चालनमा आएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुख एवम् कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिए । 

यसैबिच, मन्त्री यादवले काठमाडौँको कीर्तिपुरको सुन्दरीघाटस्थित ‘इलेक्ट्रोमेकानिकल’ शाखामा बाढीले क्षति पु-याएका महत्त्वपूर्ण उपकरणहरूको मर्मतको प्रगति अवलोकन गरेका छन् । निरीक्षणका क्रममा उनले बाढीले क्षति पु-याएका उपकरणहरूको मर्मत कार्य अघि बढाउन निर्देशन पनि दिएका थिए । 

सोही क्रममा मन्त्री यादवले सुन्दरीघाटस्थित पानी प्रशोधन केन्द्र र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) को गोदामको पनि अवलोकन गरेका थिए । 
 

Back to top