×

बारा, मटिअर्वा । नेपाल-भारत सिमानामा रहेको मटिअर्वा सिमानाबाट अवैध तस्करी खुलेआम भइरहेको छ। सीमा सुरक्षा र तस्करी नियन्त्रणको जिम्मेवारी लिएका सुरक्षा निकायकै मिलेमतोमा तस्करीका गतिविधि झनै बढेको स्थानीयहरूले आरोप लगाएका छन्।

मटिअर्वा सिमानाको सुरक्षा निगरानी गर्नका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको भए पनि उनीहरूको प्रत्यक्ष संलग्नतामा तस्करी भइरहेको बताइएको छ। स्थानीयहरूका अनुसार तस्करीको मुख्य भूमिकामा सीमा सुरक्षा गुल्मका डिएसपी बिदुर भट्टराई छन्, जसले सिमानाबाट हुने अवैध गतिविधिको रुटसम्म खुलाएका छन्।

तस्करी हुने सामानमा कपडा, कबाड, पाउडर दूध, जुत्ता-चप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्ट्स, मोटरपार्ट्स, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ रजनीगन्धा, काजु, किसमिस, चिनी, तेल, कस्मेटिक्सलगायतका सामग्रीहरू रहेको स्थानीयले बताए। तस्करहरूले टेम्पु, ठेला, साइकल र मोटरसाइकल प्रयोग गरी यी सामानहरू नेपालबाट भारततर्फ तस्करी गर्ने गरेका छन्।

स्थानीय स्रोतका अनुसार, तस्करीको नेतृत्व गरेका विभिन्न समूहले सुरक्षा निकायसँग मिलेर तस्करीलाई व्यवस्थित बनाएका छन्। धर्मनगरका बिरेन्द्र समूहले १० मोटरसाइकलमार्फत किराना सामान तस्करी गर्ने गरेको र सुरेन्द्र कलवार समूहले पियाज, चिनी, र काजु लगायतका सामानहरूको तस्करी गरिरहेको छ। सुरेन्द्र कलवारले कलैया क्षेत्रमा गोदाम राखी सामान जम्मा गरेर देशभर पठाउने गरेका छन्।

त्यस्तै, मटिअर्वा सिमानाबाट कबाड तस्करीको ठूलो व्यापार पनि सञ्चालित छ। कबाड तस्करी गर्नेहरू नेपालका विभिन्न ठाउँबाट पुरानो टायर र अन्य कबाड संकलन गरी परवानिपुर र वीरगञ्जका गोदाममा राख्छन्। यस्तै, विभिन्न अवैध वस्तुहरू जस्तै जनावरका हड्डी, छाला, विस्फोटक पदार्थ, र स्टीलका सामानहरू पनि तस्करी भइरहेको समाचार प्राप्त भएको छ।

तस्करीको यो अवैध धन्दामा सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरूको प्रत्यक्ष संलग्नता रहेको आरोप छ। रातको समयमा तस्करहरूलाई "हरियो सिग्नल" दिएपछि सामान बोकेका ठेलाहरू सजिलै भारततर्फ पठाइन्छन्।

नेपाल र भारतका उद्योग वाणिज्य मन्त्रालयहरूबीच कबाडको व्यापार सम्बन्धी सम्झौता भए पनि तस्करहरूले सम्झौताविपरीत काम गरिरहेका छन्।

यस प्रकरणले सीमा सुरक्षा निकायहरूमा रहेको भ्रष्टाचार र अवैध व्यापारको गम्भीरता उजागर गरेको छ, जसले गर्दा स्थानीय बासिन्दाहरू पनि चिन्तित छन्।

Back to top