×

सर्लाही। जिल्ला प्रहरी कार्यालय सर्लाहीले चाडपर्वको समयमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। यात्रुहरूको सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न बिहीबारदेखि सहायता कक्षको सञ्चालनमा ल्याइएको हो।

मलंगवा नगरपालिका वडा नम्बर ९ स्थित बसपार्कमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले औपचारिक रूपमा यात्रु सहायता कक्षको उद्घाटन गरे। यस अवसरमा सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रबहादुर सिंह, सुरक्षा निकायका प्रमुखहरू, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधिहरू, यातायात व्यवसायी संघका पदाधिकारीहरू, सवारी चालक र सर्वसाधारणहरूको उपस्थिति रहेको थियो।

सहायता कक्षहरू चाडपर्व अवधिभर निम्न ६ स्थानमा सञ्चालनमा रहनेछन्:

  1. मलंगवा नगरपालिका वडा नम्बर ९, बसपार्क
  2. लालबन्दी नगरपालिका वडा नम्बर २, नवलपुर बसपार्क
  3. लालबन्दी नगरपालिका वडा नम्बर ७, बिट अगाडि
  4. ईश्वरपुर नगरपालिका वडा नम्बर ५, फुलजोर चोक
  5. बरहथवा नगरपालिका वडा नम्बर १, बस काउण्टर अगाडि
  6. बागमती नगरपालिका वडा नम्बर १२, ट्राफिक चेक पोष्ट अगाडि

जिल्ला प्रहरी कार्यालय सर्लाहीद्वारा जारी विज्ञप्तिमा यात्रु सहायता कक्षहरूको उद्देश्य यात्रुहरूको कठिनाई न्यूनीकरण गर्नु र सुरक्षित यात्रा प्रवर्द्धन गर्नु रहेको उल्लेख गरिएको छ।

Back to top