×

वीरगञ्ज । वीरगञ्जको आदर्शनगरमा आजदेखि सस्तो बजार सुरु भएको छ । अलखियामठस्थित टिवडेवाल धर्मशालामा घटस्थापनाको अवसर पारेर आजदेखि सुरु भएको सस्तो बजार यही असोज २४ गते फूलपाथिसम्म लाग्ने वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधब राजपालले जानकारी दिए । 

बिहिवार बिहान जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल लगायतले सस्तो बजारको उद्घाटन गरेका हुन् ।  

आजदेखि फूलपाथिसम्म बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सस्तो बजार लाग्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले जानकारी दिए । उनकाअनुसार हरेक वर्ष लाग्ने सस्तो बजारलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । 

उद्योग विभाग पर्सा, घरेलु तथा साना उद्योग कार्यालय र वीरगञ्ज उद्योग वाणिज्य संघको सयुँक्त आयोजनामा सस्तो बजार सुरु भएको हो । बजार मूल्य भन्दा सस्तो र सर्वसुलभ मूल्यमा खाद्यान्नदेखि लत्ताकपडा एवम् अन्य सामानहरु सस्तो बजारमा बिक्रिवितरण भइरहेको उद्योग विभागकी निमित्त महानिर्देशक रिमा साहले बताइन् । उनकाअनुसार बजारमा खाद्यान्न, लत्ताकपडादेखि किराना सामान, हस्त निर्मित सामानसँगै विभिन्न किसिमका २२ वटा स्टल रहेका छन् । 

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय माधब राजपाल, मनोज दास, महासचिव आशिष लाठ, कोषाध्यक्ष शिवजी प्रसाद साह, सचिव प्रेमचन्द्र गोयल, सहसचिव निरज अग्रवाल, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका शाखा अधिकृत सुनिल चौरसिया लगायतको उपस्थिती रहेको थियो । 


 

Back to top