×

काठमाडौं । नेपालले भारतपछि बङ्गलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्नका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ। बिहीवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा नेपाल, भारत र बङ्गलादेशबीच यो ऐतिहासिक सम्झौता भएको हो।

सम्झौतामा नेपाल विद्युत प्राधिकरण (नेपाल)का कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)का अध्यक्ष मो. रेजुल करिम र भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)की सीईओ रेनु नारंगले हस्ताक्षर गरेका छन्। यस सम्झौताले नेपालबाट तेस्रो मुलुकमा औपचारिक रूपमा विद्युत् निर्यातको ढोका खोलेको छ।

सम्झौताअनुसार, पहिलो चरणमा नेपालले बङ्गलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्नेछ। नेपालको विद्युत् बङ्गलादेश पुर्‍याउन भारतको प्रशारण लाइनको प्रयोग गर्नुपर्ने भएकाले त्रिपक्षीय सम्झौता भएको हो। बङ्गलादेशलाई विद्युत् आपूर्ति गर्न भारतको एनभीभीएनको प्रशारण लाइन प्रयोग गर्दा लाग्ने ‘ह्विलिङ चार्ज’ बङ्गलादेशले बेहोर्नेछ।

सम्झौतासँगै नेपालले बङ्गलादेशलाई प्रतियुनिट विद्युत् ८ रुपैयाँ ६४ पैसामा निर्यात गर्ने योजना बनाएको छ। यस सम्झौताले दक्षिण एशियाको ऊर्जा सहकार्यमा नयाँ सम्भावना र अवसरहरूको ढोका खोलेको भन्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यसलाई कोशेढुंगा भएको बताए।

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, बङ्गलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसन र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवको पनि उपस्थिति थियो।

नेपालले विगत तीन वर्षदेखि भारतलाई विद्युत निर्यात गर्दै आएको छ, र बङ्गलादेशलाई विद्युत् निर्यात गर्ने यो पहलले नेपालको ऊर्जा व्यापारलाई क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने ठानिएको छ।

Back to top