×

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा साैन्दर्यीकरण कार्यक्रमअन्तर्गत तीनवटा अत्याधुनिक शाैचालय निर्माण गरिने भएकाे छ । 

प्रदेशको राजधानीमा पर्यटकीय विकास तथा विस्तारका लागि अन्य कुरासँगै सार्वजनिक शाैचालयकाे अत्यधिक आवश्यक्ता रहेकाे मुख्यमन्त्री सतिशकुमार सिँहले औंल्याएपछि सरकारले प्रदेश राजधानी साैन्दर्यीकरण याेजनाअन्तर्गत ती शाैचालय निर्माण गरिन थालेकाे हाे । शाैचालय निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा स्थान पहिचान गरिएकाे छ ।

प्रदेश नीति तथा याेजना आयोगका उपाध्यक्ष डा.साेहन साह, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनाेजकुमार साह, प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका निमित्त सचिव सुशील साहलगायतका व्यक्ति सम्मिलित एक टाेलीले जनकपुरधामका बसपार्क, राम मन्दिरकाे दक्षिणी भाग र कभर्डहल तथा मणिपालकाे बीचमा शाैचालयका लागि जग्गा पहिचान गरेकाे छ ।

तीन कराेड रूपैयाँकाे  लागतमा निर्माण हुने तीनवटा शाैचालयका काम आजबाट तीव्र गतिमा अगाडि बढाइने छ । जनकपुरधाममा प्रसिद्ध जानकी मन्दिर दर्शन तथा वर्षभरि भइरहने विभिन्न धार्मिक एवम् साँस्कृतिक उत्सवमा सहभागी हुन आउने श्रद्धालुभक्तजनलगायत सर्वसाधारणलाई पर्याप्त शाैचालय नहुँदा कठिनाइ भाेग्नुपरिरहेकाे छ ।

यस्तो कठिनाइ समाधान गर्न प्रदेश सरकारले प्रदेश राजधानी साैन्दर्यीकरणअन्तर्गत नै शाैचालय निर्माणकाे याेजना अघि सारेकाे प्रदेश नीति तथा याेजना आयोगका उपाध्यक्ष डा.साहले बताए ।
डा.साहसहितकाे टाेलीले प्रदेशको राजधानी जनकपुरधाममै साँस्कृतिक पर्यटकीय पार्क निर्माणका लागि जनकपुरधामकाे तिरहुतिया गाछीमा जग्गा यकिन गरेकाे छ ।

खुला जिमसहितकाे याे पार्क निर्माणका लागि प्रदेश सरकारले ४० लाख रूपैयाँ विनियाेजन गरेकाे छ ।

Back to top