×

वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्जको अर्काे भवनको शिलान्यास गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा नवरात्रीको शुभ साइत पारेर भवनको शिलान्यास गरिएको हो । लायन्स क्लबको करिब रु. १ करोड ३४ लाखको लागतमा निर्माण हुने दुई तले भवनको डाक्टर रामआवतर खेतान, आश्रमका संरक्षक एवम् मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दिपक शाक्यले भुमि पुजा तथा भवनको शिलान्यास गरेका हुन ।

लायन्स इन्टरनेशनलका संजय खेतानकाअनुसार छ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने गरी समीर कन्ट्रक्सनले ठेक्का लिएको छ । मानव सेवा आश्रमका अभिभावक प्राध्यापक डा. दिपक शाक्यको अध्यक्षतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।

भवनको शिलान्यास कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका संजय खेतान, डिएन अग्रवाल, समाजसेवी गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, आश्रमका अभिभावक प्रकाश थारु, लायन्स विनोद खण्डेवाल, राजकुमार सिन्धी, रामविहारी पाण्डे, नवदिप एकेडेमीकी प्रिन्सीपल सुशीला साह, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, देवेश गुप्ता लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

भवनको शिलान्यास डाक्टर पण्डित पुरुषोत्तम दुवेले गरेका थिए भने कार्यक्रमको सहजिकरण रोशन गुप्ताले गरेका थिए । यसअघि १८ करोडको लागतमा बन्ने मानव सेवा आश्रम वीरगञ्ज शाखाको पहिलो भवन अन्तिम चरणमा छ । तत्कालिन मुख्यमन्त्री लालबाबु राउत, सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका तत्कालिन नगर प्रमुख विजय कुमार सरावगीले संयुक्त रुपमा ११ चैत २०७८ मा शिलान्यास गरेका थिए ।

तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी भवन बनाउन लागिएको मानव सेवा आश्रमले जनाएको छ । रेम्ड अर्थ प्रविधिबाट भवन बनाउने तयारी गरिएको छ । श्रृंखला खतिवडाले सञ्चालन गरेको गाथाले भवनको डिजाइन गरेको थियो । मानव सेवा आश्रम शाखाका लागि १८ कठ्ठा जमिन र २५ लाख रुपैयाँ पनि दिइएको थियो । भोजपुरी कला सँस्कृति झल्कने, वातावरण सुहाउँदो, भूकम्प प्रतिरोधी र वास्तु शास्त्र मिलाएर भवन बनाउने इन्जिनियरहरुले बताएका छन् ।

१४ कठ्ठा जमिनमा भान्छा घर, तालिम हल, सहयोगापेक्षीलाई राख्ने कोठाहरु, हेरचाहमा खट्नेहरुका लागि आवास र आश्रममा आउने पाहुनाका लागि अतिथि गृह समेत बनाउने उनीहरुले बताएका छन् । मानव सेवा आश्रमको १३ जिल्लामा आफ्नै भवन बनिसकेको छ ।

मानव सेवा आश्रमले वि.सं. २०८० भित्रमा आश्रम शाखाहरुको भवन बनाइसक्ने, वि.सं.२०८१ सम्म जनचेतना फैलाउने र वि.सं. २०८२ बैशाख १ गते औपचारिक रुपमा सडक मानवमुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ ।

Back to top