×

वीरगञ्ज । यातायात व्यवस्था कार्यालय बाराको प्रमुख फेरिएसँगै सवारी चालक अनुमती पत्र (लाइसेन्स) को बिक्रि वितरण सुरु भएको छ । कार्यालय प्रमुखमा अर्विन्द यादव आएसँगै उनले लाइसेन्समा व्यापक आर्थिक चलखेल गर्न थालेको पाइएको हो । 

दशै तथा चाडवाडको सम्मुखमा कार्यालय प्रमुख यादवले लाइसेन्सको सूचना निकालेर अकुत सम्पती आर्जन गर्ने योजना बनाएका छन् । मन्त्रालयबाट तीन महिनाका लागि काजमा कार्यालय प्रमुख बनेका उनले तीन महिनामा ‘एनी हाउ पैँसा कमाउ’ रणनीति अपनाएका छन् । 

असोज १० गते बिहिवार कार्यालयमा हाजिर भएका यादवले १४ गते नै वर्ग एफ जी (बस, ट्रक लहरी) को सवारी चालक अनुमती पत्रका लागि सूचना निकालेका छन् । जसको २२ गते प्रयोगात्मक परीक्षा छ ।  यस्तै १४ गते नै वर्ग ए, के, बि, सि, सि वान (मोटरसाइकल, स्कुटी, कार, जिप भ्यान र अटो रिक्सा) को लागि पनि सूचना निकालिएको छ । जसको लिखित परीक्षा यही असोज २० गते हुने सूचनामा उल्लेख छ । 

मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले लाइसेन्स सम्बन्धी कुनै पनि काम नगराउन पर्साको वीरगञ्ज र रौतहटको गौरस्थित यातायाता व्यवस्था कार्यालयलाई परिपत्र गरेको छ । जसअनुरुप वीरगञ्ज र गौर दुवै ठाउँमा अहिले लाइसेन्स सम्बन्धी कुनै पनि काम भइरहेको छैन । तीन महिनामा काजमा यादव कलैयाको प्रमुख भएर आउनु र यही समयमा वीरगञ्ज र गौरमा काम रोक्नु कुनै संयोग मात्रै हो भनेर पत्याउने आधार छैन । 

अर्विन्द यादव नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवका नजिकका नातेदार हुन् । मधेश प्रदेशका प्रदेश सभा सदस्यसमेत रहेका यादवकै सिफारिसमा कलैयाको प्रमुख भएर मन्त्रालयले पठाएको हो । स्रोतकाअनुसार उनले यातायात व्यवस्था कार्यालय कलैयाको हाकिम बन्नका लागि मन्त्रालयमा ४० लाख रकम बुझाएका छन् । 

दुवै ठाउँमा काम नभएको मौका छोप्दै कार्यालय प्रमुख यादवले धमाधम सूचना निकालेर काम गरीरहेका छन् । उनी निटक स्रोतकाअनुसार अहिले एउटा मोटरसाइकल र स्कुटीको लाइसेन्सबापत उनले १० हजार र जिप कारको १० देखि १५ हजार रुपैयाँसम्म लिने गरेका छन् । त्यस्तै ह्याभी मा एउटा लाइसेन्सबाट कम्तीमा २५ देखि ४० हजार रुपैयाँसम्म असुल्ने गरेको विश्वसनीय स्रोतले जनाएको छ । कार्यालयका खरिदार सत्यनारायण साह, कम्प्युटर अप्रेटर कलाम हुसैन र सहायक शाखा अधिकृत सुशिल कर्णले पैसा उठाउने र सेटिङ मिलाउने काम गर्दै आएका छन् । 

कार्यालय प्रमुख यादवले अन्य निकायका प्रमुखसँग पनि सेटिङ मिलाइसकेको पाइएको छ । प्राप्त विश्वसनीय स्रोतकाअनुसार यादवले जिल्ला ट्राफिक प्रहरी कार्यालय बारामा भर्खरै सरुवा भएर आएकी प्रमुख प्रहरी निरीक्षक निरु ढुवालसँग समेत सेटिङ मिलाइसकेका छन् । 

कार्यालय प्रमुख यादवले भने आफुले कुनै पनि किसिमको आर्थिक चलखेल नगरेको प्रतिक्रिया दिए । आफु भर्खरै आएको हुँदा कार्यालयको कामलाई तिव्र गतिमा अघि बढाउने र सेवाग्राहीलाई सहज बनाउने कार्यमा केन्द्रित भएको उनको भनाई छ । साथै उनले कोही कसैले आर्थिक चलखेल गरेको पुष्ठि भएमा कारवाहीका लागि सिफारिस गर्ने पनि बताए । 
 

Back to top