×

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाको मेनरोडस्थित भारतीय महावाणिज्य दूतावासको पूर्वपट्टी रहेको सहनी ब्रदर्श एण्ड सप्लायर्सले लाखौं लाखको कर छली गरिरहेको समाचार बाहिर आएको छ। पर्सा र बाराका विभिन्न स्थानीय तहहरूमा सहनी ब्रदर्शले आर्थिक अनियमितता र कमिसनको जगजगी बढाएको स्रोतहरूले जनाएका छन्।

सहनी ब्रदर्शका सञ्चालक संदिप सहनीले प्रायः पर्सा र बाराका स्थानीय तहहरूमा जिन्सीका सामान सप्लाइ गर्दै आएका छन्। स्रोतका अनुसार, उनले कार्यालय प्रमुख र लेखापाललाई मोटो रकम कमिसनका रूपमा दिने गरेका छन्। कतिपय स्थानीय तहहरूले सहनीबाट भ्याट सहितको बिल मात्र उपलब्ध गराउने गरेको देखिएको छ, जसमा सहनीले २० प्रतिशत राखी बाँकी रकम सम्बन्धित अधिकारीहरूलाई बुझाउने गरेको बताइन्छ।

एक दर्जन फर्ममार्फत कारोबार
स्रोतका अनुसार, सहनी ब्रदर्शका सञ्चालकले आफ्ना नातेदार र आसेपासेहरूको नाममा करिब एक दर्जन फर्महरू दर्ता गराएका छन्, जसको माध्यमबाट उनले पर्सा र बाराका दर्जनौं स्थानीय तहहरूमा जिन्सीका सामानहरू सप्लाइ गर्दै आएका छन्। सहनीसँग रहेका फर्महरूले वार्षिक करिब ५० करोडको कारोबार गर्ने गरेको जानकारी प्राप्त भएको छ।

भारतबाट तस्करी, कर छल्ने गतिविधि
भारतबाट तस्करी गरिएका सामानहरूलाई सहनीले आफ्नो फर्महरू मार्फत स्थानीय तहहरूमा सप्लाई गरिरहेको आरोप छ। सहनीले आर्थिक वर्ष २०७९र८० र २०८०र८१ मा पर्साका ठोरी, जिराभवानी, जगरनाथपुर, धोबीनी, कालिकमाई, पकहाँ मैनपुर र बाराका दर्जनौं स्थानीय तहका कर्मचारीहरूसँग मिलेर ठूलो मात्रामा कारोबार गरेको स्रोतको दाबी छ।

आन्तरिक राजस्व कार्यालयको ध्यानाकर्षण
सहनी ब्रदर्शले मासिक लाखौं लाख कर छल्दै कारोबार गरिरहेको समाचार आएपछि, आन्तरिक राजस्व कार्यालय पर्सा र राजस्व अनुसन्धान कार्यालय पथलैयालगायतका नियमनकारी निकायहरूले सहनी ब्रदर्शका कारोबारमाथि अनुसन्धान थालेको खण्डमा ठूलो आर्थिक अनियमितता बाहिर आउने आशा गरिएको छ।

यदि सहनीका फर्महरूबाट गरिएको खरिद र सप्लाईको विस्तृत अनुसन्धान गरिएमा, नेपाल सरकारको राजस्वमा ठूलो क्षति भएको तथ्य उजागर हुने अनुमान छ।

सम्बन्धित निकायको सक्रियता आवश्यक
स्रोतले यस प्रकरणमा तत्कालीन छानबिन र कडा कदम चाल्नुपर्ने आवश्यकता रहेको औंल्याएको छ।

Back to top