×

इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै लेबनानमा आफ्ना थप सात सैनिक मारिएको जनाएको छ। लेबनानमा जारी द्वन्द्वमा हालसम्म कूल आठ इजरायली सैनिकको मृत्यु भएको हो ।

इजरायलले दक्षिणी लेबनानमा स्थल कारबाही सुरु गरेको छ । यद्यपि इजरायलले भने यो कारबाही सीमित हुने जनाएको छ।

यसअघि इजरायलले लेबनानमा आफ्ना एक सैनिकको मृत्यु भएको बताएको थियो, जसको पहिचान क्याप्टेन ईथन यित्जाकको रूपमा खुलासा गरिएको थियो। ईथन २२ वर्षका थिए। उनी लेबनानमा स्थल कारबाहीमा मारिने पहिलो इजरायली सैनिक थिए।

इजरायली सेनाका अनुसार २२ वर्षीय क्याप्टेन इगोज युनिटको टोली कमान्डर थिए, जुन एक एलिट कमाण्डो समूह हो। मृत्यु हुने थप सात सैनिकहरूमध्ये तीन इगोस इकाईकै थिए।

अन्य सात सैनिक पनि घाइते भएको आईडीएफले जनाएको छ । इजरायली सेनाले लेबनानमा मारिएका आफ्ना सैनिकको नाम ट्वीटमार्फत सार्वजनिक गरेको छ ।
बेरुतमा इजरायली आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु

यता, लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । लेबनानी अधिकारीहरूका अनुसार यो आक्रमण एक चिकित्सा सेवा केन्द्रमा भएको हो । 

यो मेडिकल सेन्टर हिजबुल्लाहसँग सम्बन्धित छ। इजरायली सेनाले पनि बेरुतमा लक्षित हमला गरेको बताएको छ ।

यसैबिच, लेबनानमा इजरायली हवाई आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । ५६ वर्षीय कामेल अहमद जवाद अमेरिकाको मिसिगनका बासिन्दा हुन् । 

उनी आफ्नी वृद्ध आमाको हेरचाह गर्न लेबनान गएका थिए । अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ताले जवादको मृत्यु भएको पुष्टि गर्दै शोक व्यक्त गरेका छन् ।

Back to top