×

लामो गृहकार्य र छलफलपछि नेपालले पहिलो पटक तेस्रो मुलुकमा बिजुली निर्यात गर्न लागेको छ। भारतपछि, अब नेपालले बंगलादेशलाई पनि विद्युत् निर्यात गर्न सम्झौता सम्पन्न गरेको छ। नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गर्दै वर्षायाममा बंगलादेशलाई विद्युत् निर्यात गर्नेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता चिरञ्जीवी चटौतका अनुसार पहिलो चरणमा ४० मेगावाट बिजुली बंगलादेश पठाइने छ। यसका लागि नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड, र भारतीय नोडल एजेन्सी एनटिपीसी विद्युत् व्यापार निगमबीच सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ।

आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर हुने प्रवक्ता चटौतले जानकारी दिए। यसअघि, असारमा नै सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएपनि बंगलादेशको राजनीतिक परिवर्तनका कारण कार्यक्रम स्थगित भएको थियो।

नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षसम्म वर्षायामका छ महिनामा ४० मेगावाट बिजुली बंगलादेशलाई निर्यात गर्ने योजना बनाएको छ। प्रति युनिट ८ रुपैयाँ १७ टाका अर्थात् ९ रुपैयाँ ३० पैसामा विद्युत् बिक्री हुने प्राधिकरणले जनाएको छ। नेपालबाट बिजुली भारतको ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै बंगलादेश जानेछ। भारतीय भूमिमा बहरामपुर-भेरमारा ४०० केभी प्रसारण लाइन प्रयोग गरिनेछ।

यस सम्झौतासँगै नेपालले विद्युत् निर्यातमा नयाँ आयाम स्थापित गरेको छ, जसले नेपालको जलविद्युत् क्षेत्रको अन्तर्राष्ट्रिय व्यापारमा थप योगदान पुर्याउनेछ।

 

 

 

 

Back to top