×

वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले केही दिनअघि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन्।

अध्यक्ष साहले बाढीपहिरोको चपेटामा परेका जनतालाई सङ्कटका बेला तीन तहका सरकारले सक्रिय भई सहारा दिनुपर्ने आवश्यकता औँल्याउँदै, राज्यले विपत्तिका बेला "मेरो पछाडि सरकार छ" भन्ने अनुभूति दिलाउनुपर्ने धारणा राखेका छन्।

सांसदसमेत रहेका साहले पीडित जनतालाई सहयोग पुर्‍याउन सबै पक्षलाई आ–आफ्नो तर्फबाट पहल गर्न आग्रह गरेका छन्। साथै, बाढीपहिरोले जनधनको साथै अर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भएको उल्लेख गर्दै, पीडित जनताको राहत र पुनर्स्थापनामा राज्यले गम्भीर भएर काम गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

अध्यक्ष साहले बाढीपहिरोबाट प्रभावित जनतालाई सहयोगस्वरूप एक महिनाको आफ्नो पारिश्रमिक दिने घोषणा गर्दै, राज्यका सरोकार भएका निकायलाई विपद् व्यवस्थापनमा तत्काल सक्रिय हुन आग्रह गरेका छन्।

राहत वितरणमा राज्यको संलग्नता बढाउनुपर्ने सुझाव

अध्यक्ष साहले पीडित जनतालाई तत्कालीन राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्न तीन तहका सरकारहरूबीच समन्वयको खाँचो रहेको पनि औँल्याएका छन्।

Back to top