×

वीरगञ्ज। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट धान, चामल र मकैको आयातमा उल्लेखनीय कमी आएको छ। वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको भदौसम्म धान, चामल, कनिका र मकैको आयात अघिल्लो आवको सोही अवधिको तुलनामा क्रमशः ३०.६१ प्रतिशत, २३.३७ प्रतिशत, र १९.५५ प्रतिशतले घटेको हो।

चालु आवको भदौ मसान्तसम्म रु ९६ करोड ३२ लाख ५६ हजार बराबरको २ करोड ६३ लाख ३४ हजार ७९० किलो धान आयात भएको छ। अघिल्लो आवको सोही अवधिमा रु १ अर्ब ३१ करोड २९ लाख १० हजार बराबरको ३ करोड ७९ लाख ५१ हजार ५६६ किलो धान आयात भएको थियो। यसले चालु आवमा धानको आयातमा ३०.६१ प्रतिशतको कमी देखाएको छ।

त्यस्तै, चामल तथा कनिकाको आयात पनि घटेको छ। चालु आवको भदौ मसान्तसम्म १६ लाख ८८ हजार ९०० किलो चामल तथा कनिका आयात हुँदा यसको मूल्य रु २२ करोड १७ लाख २८ हजार पुगेको छ। अघिल्लो आवमा भने सोही अवधिमा रु २६ करोड ५ लाख २७ हजार बराबरको २२ लाख ३ हजार ९०० किलो चामल तथा कनिका आयात भएको थियो, जसले चालु आवमा २३.३७ प्रतिशतको गिरावट देखाएको छ।

मकैको आयातमा पनि गिरावट आएको छ। चालु आवमा रु ६१ करोड २४ लाख ७८ हजार बराबरको १ करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ, भने गत आवको सोही अवधिमा रु ६७ करोड ९७ लाख ६२ हजार बराबरको १ करोड ८६ लाख ९१ हजार ७१४ किलो मकै आयात भएको थियो। यसले मकैको आयातमा १९.५५ प्रतिशतले कमी आएको देखिन्छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा धान, चामल, कनिका, र मकैको आयात घटेको बताए। देशको आन्तरिक उत्पादन र आपूर्तिको अवस्थामा सुधार आउनाले पनि यो कमी भएको हुन सक्ने अनुमान गरिएको छ।

Back to top