×

सर्लाही। सर्लाहीको बलरा नगरपालिकाका बाढी प्रभावित परिवारलाई राहत वितरण सुरु गरिएको छ। आज पहिलो चरणमा बलरा नगरपालिका वार्ड नम्बर ३ का १५० बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ।

राहत वितरण कार्यक्रम सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा बलरा नगरपालिकाको सहकार्यमा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रद्वारा सञ्चालित समुन्नति परियोजनाअन्तर्गत गरिएको हो। राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रकी अध्यक्ष गायत्री देवीका अनुसार, प्रति परिवार ९ हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ। राहत सामग्रीमा एक सेट भाँडाकुँडा, पानी फिल्टर, दुईवटा त्रिपाल, एक केजी डोरी, ब्लांकेट, र बाल्टिन सेट समावेश गरिएको छ।

राहत वितरण कार्यक्रमको उद्घाटन गर्दै बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले नगरपालिकामा बाढीबाट सबैभन्दा बढी प्रभावित वार्ड नम्बर ३ बाट राहत वितरणको सुरुवात गरिएको जानकारी गराए। "आजदेखि हामीले बाढी प्रभावित परिवारलाई राहत वितरण सुरु गरेका छौं," मेयर कुशवाहाले भने, "पहिलो चरणमा वार्ड नम्बर ३ बाट राहत वितरण थालिएको छ, र भोलिबाट अन्य वार्डहरूमा पनि राहत वितरण गरिनेछ।"

बलरा नगरपालिकाका ११ मध्ये ९ वटा वार्डहरू बाढीबाट प्रभावित भएका छन्, जसमध्ये ३ वटा वार्ड पूर्ण रूपमा प्रभावित भएको र ६ वटा वार्ड आंशिक रूपमा क्षतिग्रस्त भएको जनाइएको छ। कुलेखानीको बाँधमा पानीको सतह बढेपछि खोलिएका ढोकाहरूका कारण बागमती नदीमा पानीको बहाव उच्च भएपछि असोज १२ गते बलरा नगरपालिकामा बाढी आएको थियो।

मेयर कुशवाहाले बाढीबाट प्रभावित कुनै पनि परिवार राहतबाट वञ्चित नहुने बताउँदै, नगरपालिकाले पूर्ण, आंशिक, र न्यून रूपमा प्रभावित परिवारहरूलाई आवश्यकताअनुसार फरक–फरक राहत प्याकेज वितरण गरिने जानकारी गराए।

राहत वितरणको दोस्रो चरण भोलि अन्य प्रभावित वार्डहरूमा गरिने छ।

Back to top