×

वीरगञ्ज । नेपाल, भारत, र बङ्गलादेशबीच भोलि त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर हुने तयारी भइरहेको छ। यस सम्झौतामार्फत बङ्गलादेशले पहिलोपटक भारतीय प्रसारण लाइन प्रयोग गरी नेपालमा उत्पादित विद्युत् आफ्नो देशमा लैजान लागेको हो।

यस सम्झौतामा हस्ताक्षरको पूर्वसन्ध्यामा नेपाल र बङ्गलादेशबीचको ऊर्जा व्यापार सम्बन्धमा छलफल गर्न दुई देशका सहसचिवस्तरीय बैठक हिजो सम्पन्न भएको छ। ऊर्जा व्यापार र विद्युत विकाससम्बन्धी विषयमा छलफल गर्नका लागि सन् २०१८ मा स्थापना भएको संयुक्त कार्यदल (Joint Working Group - JWG) को छैटौँ बैठक काठमाडौँमा सम्पन्न भएको हो।

बैठकमा भोलि हुने त्रिपक्षीय ऊर्जा सम्झौता, नेपाल र बङ्गलादेशबीच ऊर्जा विकासका सम्भावनाहरू, र भावी ऊर्जा व्यापारका अवसरहरूको विषयमा व्यापक छलफल भएको छ। कार्यदलका संयोजक तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चीरञ्जीवी चटौतका अनुसार, बैठकमा उठाइएका विषयहरू आज सचिवस्तरीय संयुक्त निर्देशक समिति (Joint Steering Committee - JSC) मा पेस गरिनेछ।

नेपाल र बङ्गलादेशबीचको यस ऊर्जा व्यापारले दुबै देशको ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Back to top