×

सर्लाही। सर्लाही सदरमुकाम मलंगवाको गोरखकाली सडक खण्डमा लाखौं मूल्य बराबरको प्याज लोड भएको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतबाट नेपाल भित्रिएको जेएच ०२ बीएम २९८१ नम्बरको १६ चक्के ट्रकमा ३५ टन प्याज लोड गरिएको भए पनि आवश्यक कागजातहरू, जस्तै बिल विजक र प्रज्ञापन पत्र नभएका कारण ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सर्लाही जिल्ला प्रहरी कार्यालयका अनुसार, उक्त ट्रकमा रहेको प्याजको कुल मूल्य करिब २८ लाख रुपैयाँ अनुमान गरिएको छ भने ट्रकको मूल्य ६० लाख रुपैयाँ रहेको छ। प्याज र ट्रकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले प्याजको अवैध आयातको अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्। कुल ८८ लाख रुपैयाँ बराबरको ट्रक र प्याजको अनुसन्धानपछि आवश्यक कानुनी कारबाही गरिने बताइएको छ।

Back to top