×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवास्थित श्री नेपाल राष्ट्रिय माद्यमिक विद्यालयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वीरगञ्ज नर्सिङ क्याम्पसका बि.एस.सि. नर्सिङ प्रथम वर्षमा अध्ययनरत छात्राहरूको पहलमा आयोजना गरिएको हो ।

समुदायमा अवलोकनका क्रममा भेटिएका समस्याहरूलाई उजागर गर्ने र समाजलाई सचेत बनाउने अभिप्रायले कार्यक्रमको आयोजा गरिएको प्राध्यापिका इन्दिरा चौरसियाले जानकारी दिइन् । उनकाअनुसार छात्राहरूले स्थलगत अवलोकन गर्दै बालविवाह, दाइजो प्रथा, बालबालिकामा देखिने स्वास्थ्य समस्याहरू, मद्यपानको दुर्व्यसन, लैंगिक विभेद र गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षणको अभाव जस्ता मुद्दाहरू पत्ता लगाएका थिए । तिनै विषयलाई समेटेर कार्यक्रम अन्तर्गत जनचेतनामूलक नाटक प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा वीरगञ्ज नर्सिङ क्याम्पसकी क्याम्पस प्रमुख डा. कल्पना पौडेलले समाजमा स्वास्थ्य सम्बन्धी सचेतना फैलाउनु विद्यार्थीहरूको महत्वपूर्ण जिम्मेवारी भएको बताइन् । उनले भनिन्, “नर्सिङ शिक्षा केवल औपचारिक शिक्षामा सीमित नभई समाजको सेवामा आधारित हुनुपर्छ । यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सामाजिक समस्याहरूमा प्रत्यक्ष रूपमा सहभागी गराउँदै उनीहरूलाई समाधान खोज्न प्रेरित गर्दछ । हामीले समुदायमा भएका यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ ।”

वीरगञ्ज १६ का वडाध्यक्ष प्रशुराम चौरसियाले विद्यार्थीहरूले समाजमा देखिएका समस्या समाधान गर्न अग्रसर हुनुपर्नेमा जोड दिएका थिए । उनका अनुसार, वडा कार्यालयले क्याम्पसका विद्यार्थीहरूसँग सहकार्य गर्दै समाजलाई सचेत बनाउने अभियानमा सहयोग गर्न तयार छ ।

यस अवसरमा वडा पहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाई, प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष आलोक चौरसिया, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, हाम्रो फुटसलका प्रबन्ध निर्देशक गौरब चौरसिया, वीरगञ्ज नर्सिङ क्याम्पसकी विभागीय प्रमुख (एचओडी) सुजिता कायस्थ, क्याम्पसका शिक्षक, शिक्षिका, विद्यार्थीसँगै स्थानीयको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रमले बालविवाह र दाइजो प्रथाको अन्त्य, मद्यपान नियन्त्रण, लैंगिक समानता, गर्भावस्थामा नियमित स्वास्थ्य जाँचको महत्त्व जस्ता गम्भीर मुद्दाहरूमा जागरुकता फैलाउन योगदान पु-याएको छ । विभागीय प्रमुख सुजिता कायस्थले पनि विद्यार्थीहरूको यो प्रयासलाई सराहना गर्दै भनिन्, “युवाहरूले नेतृत्व गर्दै यस्ता जनचेतनामूलक अभियान चलाउनु अत्यन्तै सराहनीय छ । हामी सबैले मिलेर समाजमा भएका कुरीतिहरूको अन्त्य गर्न कटिबद्ध हुनुपर्छ ।”

कार्यक्रमले सहभागीहरूलाई समाजमा विद्यमान समस्याहरूको बारेमा सचेत गराउँदै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने महत्त्वमा जोड दिएको छ ।

 

Back to top