×

आगामी बुधबारदेखि गण्डकी र कोशी प्रदेशसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले कोशी प्रदेशका केही क्षेत्र तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने जानकारी दिएको छ। साथै, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार बुधबारदेखि शनिबारसम्म अपराह्नपख गण्डकीदेखि कोशी प्रदेशसम्म वर्षा हुने सम्भावना छ। उनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने वर्षाको सम्भावना न्यून रहेको बताए।

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु मिसिएर असोज ११ र १२ गते भारी वर्षा हुँदा कोशी, बागमती र गण्डकी प्रदेशमा ठूलो जनधनको क्षति भएको थियो। तर, अहिले यो प्रणाली कमजोर हुँदै पूर्वतिर सर्दै गरेको र पश्चिमी भूभागमा मौसम सफा हुँदै गएको छ।

सोमबार दिउँसोसम्म काठमाडौं उपत्यकामा घाम लागेपनि अपराह्नपख आंशिक बादल लाग्ने सम्भावना रहेको छ। मंगलबार अपराह्नदेखि कोशी प्रदेशलगायत पूर्वी भेगमा हल्का वर्षा हुने अनुमान गरिएको छ।

Back to top