×

पटेर्वासुगौली । तीन दिनदेखिको अबिरल वर्षाले क्षतिग्रस्त भएका ग्रामिण भेगका सडकहरू मर्मत गर्न थालिएको छ । ग्रामीण क्षेत्रका मुख्य सडकहरूमा परेको खाल्डाखुल्डी तथा वर्षाले बगाएको माटोका कारण सवारी साधनको आवतजावत ठप्प भएपछि सडक मर्मत गर्न थालिएको हो । स्थानीय तह र जनप्रतिनीधिहरु सडक मर्मतमा तल्लिन भएका हुन् । 
सडक मर्मतलाई तिव्रता दिएसँगै अधिकांश स्थानमा अहिले सवारी साधनको आवागमन पुनः सुचारु भएको छ ।

पटेर्वासुगौली गाउँपालिका वडा नं. २ का वडाध्यक्ष विजय गैरेकाअनुसार जनता सडक, थरुहट सडक र मुख्य सडकहरू जोड्ने सम्पूर्ण बाटाहरू बिहानैदेखि मर्मत भइरहेका छन् । उनले अति आवश्यक काम परेका नागरिकलाई आवतजावतमा कुनै कठिनाई नभएको पनि स्पष्ट पारे । 

सडक मर्मतको क्रममा खाल्डाखुल्डी पुर्ने र माटो तथा ग्रेभलको प्रयोग गरी सडकलाई पुनः सुचारु गराइएको छ । सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवका अनुसार, पटेर्वासुगौली गाउँपालिका वडा नं. २ स्थित रङ्गपुरटाडीसँग जोडिएको जनता सडक तथा सखुवाप्रसौनी गाउँपालिकासँग जोडिएको थरुहट सडकमा पनि मर्मत कार्य भइरहेको छ ।

अध्यक्ष यादवले केही ठाउँमा सडक मर्मत कार्य सम्पन्न भइसकेको र बाँकी स्थानहरूमा अहिले पनि मर्मत कार्य जारी रहेको जानकारी दिए । मर्मतका लागि एक्साभेटर र ट्याक्टरको प्रयोग गरी सडकलाई चल्ने अवस्थामा ल्याउने प्रयास भइरहेको छ । यसले गर्दा जनजीवन सामान्य बन्दै गएको छ र सवारी आवागमन सहज हुँदै गएको छ ।

स्थानिय वासिन्दाहरूले पनि यस कार्यमा स्थानीय सरकारलाई सहयोग गरिरहेका छन् । आगामी दिनमा यस्ता समस्या नदोहोरिने गरी स्थायी मर्मतसम्बन्धी योजना बनाउन जनताले सुझाव दिएका छन् ।
 

Back to top