×

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपालले वीरगञ्ज सीमा नाकामा तालिम प्राप्त कुकुरसहितको विशेष सुरक्षा टोली परिचालन गरेको छ ।

वीरगञ्ज नाका, नेपाल–भारतबीचको मुख्य व्यापारिक प्रवेश बिन्दु भएकाले, अवैध ओसारपसार रोक्न थप सुरक्षा उपायको आवश्यकतालाई मध्यनजर गर्दै यो कदम चालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले बताए ।  सशस्त्र प्रहरी उपरीक्षक धिमालका अनुसार तालिम प्राप्त ल्याब्राडोर र जर्मन सेफर्ड कुकुरहरूको टोली परिचालन गरिएको हो ।

यी कुकुरहरूले लागूऔषध, हातहतियार र विष्फोटक पदार्थको पहिचान गर्न सक्ने भएकाले, यसले सीमा क्षेत्रमा सुरक्षा बललाई ठोस सहयोग पु¥याउने उनको विश्वास छ । उपरीक्षक धिमालले वीरगञ्ज नाकामा सुरक्षा मजबुत पार्न कुकुरसहितको टोलीको परिचालन अत्यावश्यक भएको र यसले अवैध गतिविधि नियन्त्रणमा महत्वपूर्ण प्रभाव पार्ने बताए ।

यो टोली सशस्त्र प्रहरी बलको पशु स्वास्थ्य तथा डग हेण्डलर उपशाखाबाट प्रशिक्षित कुकुरहरूसहित सीमा नाकामा परिचालित गरिएको हो । नजिकिदै गरेको चाडवाडलाई लक्षित गर्दै सीमा सुरक्षा बढाइएको उनको भनाई छ ।

रुपन्देहीको बेलहिया नाकामा पनि यस्तै तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ । बेलहिया नाकामा साया नामक ल्याब्राडोरले लागूऔषध पहिचानमा काम गर्नेछ भने डेजी नामक जर्मन सेफर्डले हातहतियार तथा विष्फोटक पदार्थको पहिचान गर्नेछ ।

Back to top