×

पर्सा । तीन दिनको अविरल वर्षाले पर्सा जिल्लाका ग्रामिण क्षेत्रहरूमा जनजीवन अत्यन्त प्रभावित भएको छ। ओरिया, सिकटा, तिलावे, भेडहा, भलुवाही, र ढोङ्गही नदीहरूमा आएको बाढीले गर्दा ग्रामीण क्षेत्रका धेरै बाटाहरू अवरुद्ध भएका छन्। विशेष गरी जनता सडक, थरुहट सडक, र मुख्री बाटोलाई जोड्ने मार्गहरू पूर्ण रूपमा बन्द भएका छन्, जसले गर्दा स्थानीय बासिन्दाहरूलाई अति आवश्यक कामका लागि समेत आवतजावत गर्न गाह्रो परेको छ।

सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर २, औराहा पचगावाका बजार क्षेत्र, पटेर्वासुगौली, रङ्गपुरटाडी लगायतका स्थानहरूमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहन जङ्ग बुढा थापाले स्थानीय बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन चेतावनी दिएका छन्। उनले ग्रामीण भेगमा बाढीको जोखिम बढेका कारण घरबाट ननिस्कन, लामो दूरीको यात्रा नगर्न, र आफ्ना परिवार तथा छोराछोरीहरूको सुरक्षा गर्न विशेष ध्यान दिन सल्लाह दिएका छन्।

प्रनि थापाले नागरिकहरूलाई यस्तो आपतकालीन अवस्थामा तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गरेका छन्। उनले भने, 'यस्तो अवस्थाले गर्दा आवतजावत र अन्य क्रियाकलापमा असुविधा भएको छ। घरपरिवारलाई सुरक्षित राख्दै कुनै घटनाको सामना भएमा तुरुन्तै प्रहरीलाई सूचित गर्नु अत्यावश्यक छ।'

यस वर्षाको कारण ग्रामिण भेग मात्र नभई पर्सा जिल्लाका अन्य ठाउँहरू पनि प्रभावित भएका छन्। विभिन्न ठाउँमा पानीको सतह बढ्दै जाँदा धेरै घरहरू डुबानमा परेका छन्। किसानहरू विशेषतः चिन्तित छन्, खेतबारीमा पानी जमेर बालीनाली नष्ट हुने जोखिम उच्च छ। प्रशासनले यस आपतकालीन परिस्थितिमा राहत तथा उद्धारका कार्यक्रम सञ्चालन गर्न थालेको छ भने नागरिकहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न पहल गरिरहेको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहन जङ्ग बुढा थापाले बाढीको जोखिमपूर्ण अवस्थामा नदी, खोलाहरू, र पानीको मुहानहरूमा माछा मार्न कडा प्रतिबन्ध लगाएको जानकारी दिएका छन्। तीन दिनको अबिरल वर्षाका कारण ओरिया, सिकटा, तिलावे, भेडहा, भलुवाही, र ढोङ्गही नदीहरूको जलस्तर उच्च भएको हुँदा यस समयमा माछा मार्न जानु अत्यन्तै खतरनाक भएको थापाले बतााएका छन्।

प्रनि थापाले बाढी प्रभावित क्षेत्रहरूमा निरीक्षण गर्दै, माछा मार्न नदी तथा खोला नजिक पुगेका व्यक्तिहरूलाई तुरुन्तै भगाउन निर्देशन दिएका छन्। उनले यस्तो जोखिम अवस्थामा माछा मार्न जानु आफ्नो जीवनलाई खतरामा पार्ने काम भएको भन्दै सबैलाई सुरक्षित रहन र बाढीको समयमा नदी, खोला, वा पानीका स्रोतहरूको नजिक जानबाट जोगिन चेतावनी दिएका छन्।

थापाले भने, 'बाढीको समयमा पानीको बहाव र गहिराइ अप्रत्याशित हुन सक्छ, जसले गर्दा माछा मार्नेहरू सिकार बन्न सक्छन्। त्यसैले अहिलेको अवस्थालाई ध्यानमा राख्दै माछा मार्ने गतिविधि पूर्ण रूपमा रोक लगाइएको छ।'

उनले स्थानिय बासिन्दालाई यस्तो आपतकालिन अवस्थामा कुनै पनि किसिमको जोखिम नलिन र कुनै अप्रिय घटना भएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयलाई जानकारी दिन पनि आग्रह गरेका छन्।

Back to top