×

वीरगञ्ज। अविरल वर्षाका कारण मुलुकभर जनजीवन प्रभावित भएपछि गृहमन्त्री रमेश लेखकले शनिबार बिहान १०ः३० बजे केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेका छन्। गृह मन्त्रालयका अनुसार उक्त बैठक राहत, उद्धार तथा थप कार्ययोजना तय गर्नका लागि बोलाइएको हो।

गृहमन्त्रीको सचिवालयका अनुसार, देशका विभिन्न स्थानहरूमा निरन्तरको वर्षाका कारण बाढी, पहिरो र डुबानका समस्या देखिएका छन्। साथै, जनधनको क्षतिको जोखिम उच्च रहेकाले गृहमन्त्री लेखकले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।

यस बैठकमा सुरक्षा निकायका चारवटै प्रमुखहरूको सहभागिता हुने बताइएको छ। बैठकमा मुलुकभरका प्रभावित क्षेत्रमा राहत तथा उद्धारकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

बाढी तथा पहिरोबाट उत्पन्न समस्याहरूको उचित व्यवस्थापनका लागि सरकारको पहलले जनतामा केही राहत पुग्ने आशा गरिएको छ।

Back to top