×

अमेरिकाले चिनियाँ र रूसी प्रविधिप्रयोग गरी निर्माण भएका गाडी बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको भन्दै चीनले आपत्ति जनाएको छ । अमेरिकालाई आफ्ना कम्पनीविरुद्ध ‘भेदभावपूर्ण कदम’ नचाल्न चीनले चेतावनी दिएको हो ।

यसअघि अमेरिकाले चीनमा निर्मित हार्डवेयर र सफ्टवेयरलाई आफ्ना गाडीमा प्रतिबन्ध लगाउने नयाँ नियममा विचार गरिरहेको खबर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए ।

चीनले अमेरिकालाई बजार सिद्धान्तको सम्मान गर्न र चिनियाँ उद्यमका लागि खुला, निष्पक्ष, पारदर्शी र भेदभावरहित व्यावसायिक वातावरण प्रदान गर्न आग्रह गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यम एएफपीले जनाएको छ ।

अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणालाई अघि सारेर चिनियाँ कम्पनी तथा उत्पादनविरुद्ध विभेदकारी कदम चालेको भन्दै चीनले विरोध गरेको खबरमा उल्लेख छ । प्रवक्ता लिनले चीनले आफ्नो वैध अधिकार र हितको रक्षा गर्ने बताएका छन् ।

अमेरीकाको यो कदमले चीनसँगको व्यापार विवादलाई थप बढाउने देखिएको छ । गएको मे महिनामा अमेरिकाले विद्युतीय गाडी, ब्याट्री, महत्त्पूर्ण खनिज पदार्थ , चिकित्सा उत्पादन लगायत चिनियाँ आयातमा चर्को कर वृद्धि गरेको थियो । चीनले व्यापारमा प्रतिस्पर्धा गर्नुको साटो ठगी गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । 

Back to top