×

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपाल र ओमानबीचको खेल रद्द भएको छ। 

क्यानडाको किङसिटीमा मंगलबार राति सवा ९ बजे (नेपाली समय)का लागि तय खेल वर्षातका कारण टस समेत हुन नसकी रद्द भएको हो। 

सिरिजको अन्तिम खेल रद्द भएसँगै नेपाल र ओमानले समान एक अंक बाँडेका छन्। अंक बाँडेसँगै नेपालले ८ खेलबाट १ खेलमा जित, ६ खेलमा हार र १ खेल रद्द भएर ३ अंकमा अंक तालिकाको सातौँ स्थानमा छ। 

नेपालभन्दा एक खेल कम खेलेको ओमान २ खेलमा जित, ३ खेलमा हार र २ खेलमा अंक बाँड्दै ६ अंकमा तालिकाको छैटौँ स्थानमा छ। 

ओमानसँगको पहिलो खेलमा नेपाल १ विकेटले पराजित भएको थियो। घरेलु टोली क्यानडासँग भने पहिलो खेलमा १ सय ३ रनको फराकिलो अन्तरले र दोस्रो खेलमा ५ विकेटले पराजित भएको थियो। 

नेपालले अब यही टोलीसँग टी–२० आई सिरिज खेल्नेछ। त्यसपछि नेपाली टोली उतैबाट अमेरिका जानेछ। नेपालले अमेरिकामा स्कटल्यान्ड सम्मिलित आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक ओडीआई सिरिज खेल्ने तालिका छ।

Back to top