×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतबाट भागेका ९ जना थुनुवालाई २५ घण्टा भित्रै पक्राउ गरेको छ ।

सोमवार बिहान सवा ३ बजे हिरासत कक्षबाट फरार भएका ९ जना थुनुवालाई २५ घण्टा भित्रै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । प्रहरी उपरीक्षक तिवारीकै नेतृत्वमा परिचालित प्रहरीको टोलीले हिरासत कक्ष कोठा भित्रको शौचालयको भेन्टिलेसनबाट भागेका नौ जनै थुनुवालाई पक्राउ गरेको हो । 

सत्यम झालाई तत्कालै प्रहरीले जनकचोकबाट पक्राउ गरेको थियो । थप तीनजनालाई प्रहरी धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरेको प्रहरी उपरीक्षक तिवारीले बताए । 

यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका ७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्की पक्राउ परेका हुन् । 

केही समयकै अन्तरालमा लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका १ का १७ वर्षीय सुमित मेस्तर पनि पक्राउ परेको प्रवक्ता अवाले बताए । उनकाअनुसार उनीहरुलाई धनुषाको लखौरीबाटै पक्राउ गरिएको हो ।

धनुषाको नगराइन नगरपालिका २ का १८ वर्षीय मनिष मण्डल रफऔरही गाउँपालिका २ का २३ वर्षीय विशाल मुखिया पनि पक्राउ परेसँगै फरार सबै थुनुवा पक्राउ परेका हुन् ।  

 

Back to top