×

पर्सा । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ फरहदवामा नवनिर्मित आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । भव्य कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले रिबन काटेर अस्पतालको उद्घाटन गरेका हुन् । यस अवसरमा पूर्व प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवा जनताको प्राथमिक आवश्यकतामा पर्ने बताउँदै सरकारले देशका विभिन्न दुर्गम ठाउँहरूमा स्वास्थ्य पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिए ।

उनले भने, “यो आधारभूत अस्पतालले यहाँका जनताले समयमै उपचार पाउने आशा छ । यसले स्थानीयस्तरमा स्वास्थ्य सुविधाको पहुँचलाई विस्तार गर्नेछ, जसले गर्दा जनताले स्वास्थ्य सेवाका लागि अन्य ठाउँमा जानु नपर्नेछ । स्वास्थ्यलाई जनताको मौलिक अधिकारको रूपमा सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ ।”

८ करोड १० लाख रुपैयाँको लागतमा १० शैयाको आधारभूत अस्पताल निर्माण गरिएको हो। जसमा पालिकाले २ करोड रुपैयाँको विभिन्न उपकरणहरुको व्यवस्थापन गरेको पालिका उपाध्यक्ष ममता महतो थारुले जानकारी दिइन्।

उनका अनुसार,मंगलबारदेखि सञ्चालनमा आएको आधारभूत अस्पतालमा डिजिटल एक्सरे,अत्याधुनिक प्रयोगशाला९ल्यब०,इसिजी,अल्ट्रासाउन्ड९युसजी० र आफ्नै फार्मेसीको सेवा उपलब्ध छ। यस्तै ओपिडी सेवा र प्रसुती सेवापनि उपलब्ध छ।

अस्पतालमा हप्ताको सातै दिन फिजिसियन चिकित्सक १ जना कार्यरत छन् भने हप्ताको १ दिन प्रसुती विशेषज्ञ चिकित्सकपनि खटिने उपाध्यक्ष थारुले जानकारी दिइन्।यसका साथै स्टाफ नर्स ३ जना र हेल्थ असिस्टेन्ट ६ जना कार्यरत रहेको उनले बताइन्।

प्रधानमन्त्री केपी शर्माले २०७७ मंसिर १५ गते पटेर्वासुगौलीसहित देशभर ३०९ वटा आधारभूत अस्पतालको शिलान्यास गरेका थिए । त्यसमध्ये पर्सा जिल्लामा ४ वटा आधारभूत अस्पतालको शिलान्यास गरिएकोमा पटेर्वा सुगौली गाँउपालिमा निर्मित आधारभूत अस्पताल सञ्चालनमा आएको हो ।

पर्सा जिल्लामा भने पटेर्वा सुगौली, धोबिनी, जिराभवानी र ठोरी गाँउपालिकामा गरि चार वटा आधारभुत अस्पतालको शिलान्यास गरिएकोमा जिल्लामा एकमात्र पटेर्वा सुगौलीको आधारभूत अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएको गाँउपालिका अध्यक्ष दिनेश चौधरीले बताए ।

गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय कुमार चौरसिया, पूर्व मन्त्री उमाकान्त चौधरी, राष्ट्रिय सभा सदस्य आनन्द ढुंगाना, मधेस प्रदेशका सभापति कृष्ण यादव, मधेस प्रदेश भूमि तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, राजेन्द्र आमात्य, मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव, वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, तथा अन्य स्थानीय जनप्रतिनिधिहरू र भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यो अस्पतालले पटेर्वा सुगौली र आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको स्वास्थ्य सेवामा पहुँचलाई सहज बनाउने अपेक्षा गरिएको छ । यसले विशेष गरी बालबालिका, गर्भवती महिला, र जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण र उपचारमा महत्वपूर्ण भूमिका खेल्नेछ।

Back to top