×

वीरगञ्ज। प्याब्सन पर्साले प्रथम स्कुल स्तरिय पौडी प्रतियोगिता २०८१ भव्य र सभ्य रूपमा सम्पन्न गरेको छ। वीरगञ्जको आदर्शनगरमा रहेको स्विमिङपुलमा आयोजित यस प्रतियोगितामा सिनियर र जुनियर दुई समूहमा प्रतियोगिता आयोजना गरिएको थियो।

सिनियर समूहको फ्रीस्टाइल पौडीमा साउथ जोनका सुजल चौधरी प्रथम भए भने मुनलाइट स्कुलका सत्येन्द्र यादव दोस्रो र नवदिप एकेडेमीका विजय महतो तेस्रो स्थानमा रहे। चौथो स्थानमा सनसाइन स्कुलका राम कुमार, पाँचौंमा राजन मुर्मुर, र छैठौंमा ब्लुहेभनका अमित कुमारले सान्त्वना पुरस्कार प्राप्त गरे।

जुनियर समूहमा भने सनलाइट स्कुलका विक्रम महतो प्रथम भए। दोस्रो स्थानमा सनसाइन स्कुलका विराज पटेल, तेस्रोमा ज्ञानदा एकेडेमीका सोनु पटेल रहे भने सान्त्वना पुरस्कारतर्फ चौथो स्थानमा बिकन स्कुलका कामेश गोसाई, पाँचौं स्थानमा मास्कोट एकेडेमीका सोनव आलम र छैठौं स्थानमा राजिव चौरसिया रहे।

कार्यक्रमको प्रमुख अतिथि नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठले पौडीलाई शारीरिक व्यायामका लागि महत्वपूर्ण भन्दै प्रतियोगिताको सफल आयोजनका लागि आयोजक प्याब्सन पर्सा र वीरगञ्ज महानगरलाई बधाई दिए। साथै उनले वीरगञ्जमा यस्तो प्रतियोगिता पहिलो पटक आयोजना भएकोमा खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्ने र विद्यार्थीहरूलाई देश–विदेशमा पदक जित्न प्रेरित गर्नुपर्नेमा जोड दिए।

प्रतियोगितामा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान र प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षता रहेको थियो। विशिष्ट अतिथिहरूमा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, मधेश प्रदेश प्याब्सनका वरिष्ठ उपाध्यक्ष श्याम केसी, तथा अन्य गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।

समारोहमा प्रमुख अतिथिहरूद्वारा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीहरूलाई शिल्ड, मेडल, र प्रमाणपत्र प्रदान गरियो भने सान्त्वना पुरस्कार विजेता तथा सहभागी सम्पूर्ण खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन प्याब्सन वीरगञ्ज महानगरका सचिव एवं संयोजक सन्नी पाख्रीनले गरेका थिए।

Back to top