×

वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले पार्टी सभापति रबि लामिछानेलाई सरकारले संसदिय छानबिन समितिको प्रतिवेदन विपरित धरपकड गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ।

मंगलबार दिउँसो, रास्वपाको पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा आदर्शनगरबाट निस्किएको मौन जुलुसले जिल्ला प्रशासन कार्यालय, पर्सामा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सानू बाबु अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो। सहायक प्रमुख अधिकारीले उक्त ज्ञापनपत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाइने जानकारी दिए।

जुलुसले “रबि निर्दोष छन्, राजनीति पूर्वाग्रह नगर्नू” र “८७ अर्ब ठगी गर्ने असली सहकारी ठगहरुलाई कारबाही गर” भन्ने प्लेकार्डहरू बोकेका थिए। ज्ञापनपत्र बुझाइसकेपछि जुलुस माइस्थानमा पुगेर कोणसभामा परिणत भयो। कोणसभामा बोल्दै जिल्ला सभापति पन्तले दुई तिहाईको दम्भ देखाउनुको सट्टा सरकारलाई जनता निकट भएर काम गर्न चेतावनी दिए। उनले नेपाली जनताले श्रीलंका र बंगलादेशको जस्तै विद्रोह गर्न सक्ने चेतावनी दिँदै सत्ताको स्थायित्वमा प्रश्न उठाए।

सभामा रास्वपा क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र, फैयाद मिया, प्रदेश सदस्य तुलसा पौडेल, सुदिश प्रजापति, प्रचार विभागका प्रदेश प्रमुख राम शरार्फ, संगठन र शिक्षा विभाग प्रमुख राम प्रमोद रायमाझी, राम आर्य सोनाला पटेल, पालिका सभापति माधव बस्नेत, उमेश यादव, चन्दन गुप्ता, प्रदीप पटेल लगायतका नेताहरुको उपस्थिति थियो। सभालाई केन्द्रिय सदस्य डा. नन्दन यादव र पूर्व संयोजक दिलिप कुर्मीले सम्बोधन गरेका थिए।

Back to top