×

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाट फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गरेका छन् । साथै उनले परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । 

आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत निर्माणाधीन ललितपुरको धोबीघाट फोहोर पानी प्रशोधन केन्द्रको स्थलगत निरीक्षण अनुगमनका क्रममा मन्त्री यादवले समयमै काम सक्न निर्देशन दिएका हुन् । 

काठमाडौँ उपत्यकामा सहरीकरणसँगै बढ्दै गएको फोहोर पानीको व्यवस्थापनका लागि अत्यन्त महत्त्वपूर्ण परियोजना भएको उल्लेख गर्दै मन्त्री यादवले परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउनु पर्ने बताए । 

“फोहोर पानी प्रशोधन केन्द्रहरूको प्रभावकारी सञ्चालनले काठमाडौँ उपत्यकामा पानीको गुणस्तर सुधार र वातावरणीय स्वच्छता कायम गर्न महत्त्वपूर्ण योगदान पु¥याउँछ,” उनले भने “यी परियोजनाहरूले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै जनस्वास्थ्यमा सुधार ल्याउनेछन् ।”

परियोजनाहरू समयमै सम्पन्न भए उपत्यकाका मुख्य नदीहरूमा प्रवाह हुने फोहोर पानीको प्रभावकारी व्यवस्थापन हुनुका साथै, स्वच्छता र स्वास्थ्यसम्बन्धी सेवाहरूमा दीर्घकालीन सुधार आउने मन्त्री यादवले अपेक्षा लिएका छन् । 

सोही क्रममा मन्त्री यादवले मन्त्रालयले आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै अनुगमनलाई उच्च प्राथमिकतामा राखेर परियोजनाहरूको समयमै कार्यान्वयन सुनिश्चित गरिने बताए । सरकारले वातावरणीय संरक्षण र जनस्वास्थ्यको सुधारका लागि यस्ता फोहोर पानी प्रशोधन केन्द्रहरूको निर्माणलाई निरन्तर प्राथमिकतामा राखेको मन्त्री यादवले जानकारी दिए । 

उनले निर्माण कम्पनीहरूलाई जिम्मेवारी निष्ठापूर्वक पालना गर्दै तोकिएको समय सीमाभित्र काम सम्पन्न गर्न समेत निर्देशन दिएका छन् । मन्त्री यादवले धोबीघाट निरीक्षण अनुगमन पश्चात् आजै बालकुमारी (कोड्कु) स्थित निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको पनि निरीक्षण अनुगमन गरेका थिए । उनले परियोजनाको प्रगति अवस्थाबारे जानकारी लिएपछि निर्माण कम्पनीलाई स्रोत साधन परिचालन गरी कामको गति तीव्र पार्न निर्देशन दिएका थिए । 

निरीक्षणकै क्रममा मन्त्री यादवले केन्द्रको हालको अवस्था, पानी प्रशोधन प्रणाली, र बाँकी निर्माण कार्यको प्रगतिका बारेमा विस्तृत जानकारी लिएका थिए । धोबीघाट र बालकुमारी (कोड्कु) फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य पूरा भएपछि यसले उपत्यकाका विभिन्न क्षेत्रका बासिन्दालाई स्वच्छ र सुरक्षित वातावरण प्रदान गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

उक्त निरीक्षण अनुगमनमा खानेपानी मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्य, सह–सचिव रमाकान्त दुवाडी, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक टिकाबहादुर चौधरीलगायतको सहभागिता रहेको थियो ।

Back to top