×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा परेको प्रतिकूल असरलाई ध्यानमा राख्दै दुई दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरू असोज ८ र ९ गते बन्द गर्न निर्देशन दिएको हो।

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सोमवार एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीहरू कक्षाकोठामा बेहोस हुन थालेपछि यस्तो निर्णय गर्न बाध्य भएको जानकारी दिनुभयो। सूचनामा पर्सा जिल्लाका सबै विद्यालयहरू असोज ८ र ९ गते बन्द रहने उल्लेख गरिएको छ।

पर्सा, बारा लगायतका मध्यतराईका जिल्लाहरूमा असोज महिनामा पनि तापक्रम अत्यधिक बढिरहेको छ। यहाँको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुगेको छ, जसले गर्दा विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर प्रभाव पर्न थालेको छ। गर्मीका कारण विभिन्न विद्यालयहरूमा दर्जनौं विद्यार्थीहरू बेहोस भएका घटनाहरू पनि रिपोर्ट भएका छन्।

सामाजिक सञ्जालमार्फत अभिभावकहरूले पनि यस विषयमा चासो व्यक्त गर्दै विद्यालय बन्द गर्न माग गरेका थिए। जारी गर्मीले विद्यार्थीहरूको स्वास्थ्यमा देखिएको असरलाई मध्यनजर गर्दै महानगरले तत्काल पठनपाठन स्थगित गर्ने निर्णय लिएको हो।

Back to top