×

वीरगञ्ज । दसैं र तिहार जस्ता ठूला नेपाली चाडपर्वहरु नजिकिँदै गर्दा आम उपभोक्तालाई झट्का दिनेगरी खानेतेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। पछिल्लो एकदेखि डेढ साताभित्र खानेतेलको थोक मूल्य प्रतिलिटर २० रुपियाँका दरले बढेको छ, जसले खुद्रा बजारमा थप मूल्यवृद्धि ल्याएको छ।

यो मूल्यवृद्धिको कारणले सर्वसाधारण उपभोक्ताहरुको घरायसी खर्चमा प्रत्यक्ष प्रभाव परेको छ। उपभोक्ताहरुले यो मूल्यवृद्धि प्रति असन्तोष व्यक्त गरिरहेका छन् भने सरकारी निकायले यसबारे कुनै ठोस कदम नचालेको उनीहरूको गुनासो छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने मूल्यवृद्धिलाई नियालिरहेको र आवश्यक कदम चाल्ने जनाएको छ। विभागका महानिर्देशक राजन पौडेलका अनुसार विभागले अस्वाभाविक मूल्यवृद्धिको कारण पत्ता लगाउन उद्योगहरूसँग सोधपुछ थालेको छ। पौडेलले भने, "मूल्य बढ्नासाथ कारबाही गर्न सक्ने अधिकार हामीसँग छैन, तर हामी मूल्यवृद्धिको कारण पत्ता लगाउने प्रयासमा छौँ। अस्वाभाविक मूल्यवृद्धि पाइएमा आवश्यक कारबाही हुनेछ।"

उद्योगीहरू भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धिलाई कारण देखाउँदै आएका छन्। उनीहरूले पाम र भटमास तेलमा कुनै अस्वाभाविक मूल्यवृद्धि नभएको दाबी गरेका छन्।

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पछिल्लो एक÷डेढ साताभित्र खानेतेलको थोक मूल्य प्रतिलिटर २० रुपियाँले बढेको जानकारी दिए। श्रेष्ठका अनुसार बजारमा प्रतिकार्टोन तेलको मूल्यमा दुई सय रुपियाँसम्म वृद्धि भएको छ भने खुद्रा व्यापारीका अनुसार यो वृद्धि उपभोक्तासम्म ३० रुपियाँसम्म महँगो भएर पुगेको छ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार, हाल सूर्यमुखी तेलको थोक मूल्य प्रतिकार्टोन दुई हजार दुई सयदेखि दुई हजार चार सय रुपियाँसम्म पुगेको छ भने भटमास तेलको थोक मूल्य दुई हजार तीन सय रुपियाँ छ। तोरीको तेलमा प्रतिकार्टोन तीन सय रुपियाँ बढेर अहिले तीन हजार रुपियाँ पुगेको छ।

खानेतेलको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि सरकारी निकायको प्रभावकारी अनुगमन र उचित कदमको माग उपभोक्ताहरूले गरिरहेका छन्। चाडपर्वको मुखमा तेलको मूल्यवृद्धि आम उपभोक्ताका लागि थप आर्थिक बोझ बनेको छ।

Back to top