×

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई स्वदेश फर्केर रोजगारी र अवसर सृजना गर्न आह्वान गरेका छन्। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित ‘वर्ल्ड लिडर्स फोरम’मा बोल्दै यो आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले 'नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा' विषयमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै गरिबी निवारण गरी सबैलाई सम्मानजनक जीवन यापनको अधिकार दिलाउन 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकांक्षा अघि सारेको बताए।

उनले नेपालबाट विदेश जाने विद्यार्थी र युवाको सङ्ख्या उल्लेख गर्दै पछिल्लो समय स्वदेश फर्कनेहरूको क्रम पनि बढेको दाबी गरे। प्रधानमन्त्रीले साना–साना उद्योग र स्टार्टअप कार्यक्रममार्फत नेपाल सरकारले रोजगारीका अवसरहरू सिर्जना गरिरहेको जनाउँदै, युवाविना मुलुकको रूपान्तरण सम्भव नभएको स्पष्ट पारे।

प्रधानमन्त्रीले भने, "नेपालको आर्थिक अवस्था त्यति कमजोर छैन, बरु म समृद्धिको प्रचुर सम्भावना देखिरहेको छु, जुन मेहनत गरेमा छिट्टै हासिल गर्न सकिन्छ।" भारत र चीनजस्ता ठूला शक्तिराष्ट्रका छिमेकी भएकोले नेपाल बहुआयामिक अर्थतन्त्र बन्न सक्ने अवस्थामा रहेको प्रधानमन्त्रीको भनाइ थियो।

सुशासन र पारदर्शिता कायम गर्दै समृद्ध नेपाल निर्माणमा आफू र आफ्नो सरकार पूर्ण रूपमा कटिबद्ध रहेको प्रधानमन्त्री ओलीले बताए।

अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी डा. जिल बाइडेनको उपस्थितिमा आयोजित ‘लिड फ्रि फ्युचरः पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लिडमुक्त अभियानमा नेपालले ऐक्यबद्धता जनाएको जानकारी दिए।

Back to top