×

जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका जसपा नेपाल पर्साका जिल्ला सचिव तबरेज अहमदले सोमबार पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवलाई राजिनामा बुझाएका छन्। अहमदले आफ्नो राजिनामापत्रमा ५ वर्षभन्दा बढी एउटै पदमा नबस्ने र ६० वर्षपछि राजनीतिबाट सन्यास लिने आफ्नो पुरानो प्रतिवद्धतालाई कार्यान्वयन गर्दै पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

शनिबार मात्र अहमदसँगै जसपा नेपाल वीरगञ्ज महानगर सचिव असलम अन्सारी र समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष एजाजबाबु राँकीले पनि जसपा नेपाल परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए। अहमदले शनिबार जसपा नेपाल परित्याग गरेको घोषणा गरेपछि सोमबार औपचारिक रूपमा जिल्ला अध्यक्षलाई राजिनामा पत्र बुझाएका हुन्।

राजिनामापत्रमा अहमदले लेखेका छन्, "मैले कुनै पनि पदमा पाँच वर्षभन्दा बढी नबस्ने र ६० वर्षको उमेरपछि राजनीति छोड्ने वाचा पहिल्यै गरेको थिएँ। संयोगवश, जसपा नेपालको जिल्ला सचिवको जिम्मेवारी सम्हालेको पाँच वर्ष पूरा भएको छ, र आज मैले औपचारिक रूपमा पद तथा पार्टीको साधारण सदस्यताबाट राजिनामा दिएको छु।"

गत शनिबार जनता समाजवादी पार्टीमा प्रवेश गर्दै अहमदले आफ्नो निर्णयको कारण पनि स्पष्ट पारेका थिए। उनले सत्तामा रहँदा मधेसको मुद्दालाई बिर्सिने तर सत्ताबाट बाहिरिएपछि मात्रै मुद्दा उठाउने उपेन्द्र यादव नेतृत्वको पार्टीको प्रवृत्तिलाई देखाउँदै जसपा नेपाल मधेसको हितमा काम गर्न असफल रहेको बताउँदै जसपा नेपाल परित्याग गरेको प्रतिक्रिया दिएका थिए।

तबरेज अहमद लामो समयदेखि राजनीतिक रूपमा सक्रिय नेता हुन्। उनले पर्सा जिल्लामा विभिन्न राजनीतिक आन्दोलनमा सहभागिता जनाउँदै मधेसका मुद्दाहरूमा काम गरेका छन्। अहमद र उनका समर्थकहरूको जसपा नेपालबाट प्रस्थानले पर्सा जिल्लाको राजनीतिक वातावरणमा नयाँ मोड ल्याउने संकेत गरेको छ।

यस घटनालाई राजनीतिक विश्लेषकहरूले मधेसको राजनीतिक ध्रुवीकरणसँग जोडेर हेरेका छन्, जहाँ नेताहरूले पार्टीहरूबीचको विचारधारात्मक भिन्नतालाई प्राथमिकतामा राख्दै फेरबदल गरिरहेका छन्।

Back to top