×

तराई-मधेशमा हालको प्रचण्ड गर्मीले जनजीवन प्रभावित बनाइरहेको छ। अत्यधिक गर्मीका कारण पोखरिया नगरपालिका वडा नम्बर ४ स्थित जिल्ला उचागंल रामदेव कलवार माध्यमिक विद्यालयमा सोमबार आठ जना विद्यार्थी कक्षा कोठामै बेहोश भएका छन्।

बेहोश हुनेमा कक्षा ७ का सोनु ठाकुर र लालसा कुमारी यादव, कक्षा ९ की नेहा कुमारी, मनिता कुमारी यादव, अन्तिमा कुमारी राम, चन्दा कुमारी ठाकुर, निसमा कुशवाहा, र साजदा खातुन रहेका छन्। विद्यार्थीहरूलाई तत्कालै पोखरिया अस्पताल लगिएको थियो, जहाँ उनीहरूको उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी अस्पताल प्रशासनले दिएको छ।

यस घटनापछि पोखरिया नगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्रका विद्यालयहरूमा बिहानी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवद्वारा जारी सूचनामा असोज ८ देखि असोज ११ गतेसम्म बिहान ६ बजेदेखि मौसमको अनुकूलता अनुसार पठनपाठन सञ्चालन गर्न भनिएको छ।

पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानले अत्यधिक गर्मीले विद्यार्थीहरू कक्षामा नै बेहोश हुन थालेको बताए। उनले जनस्वास्थ्यलाई ध्यानमा राख्दै असोज ८ देखि चार दिनसम्म नगरका सबै विद्यालयहरूमा बिहानको समयमै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको जानकारी गराए।

यस वर्षको असामान्य गर्मीले तराई-मधेश क्षेत्रका बासिन्दाहरूलाई गम्भीर समस्या सिर्जना गरेको छ। दिनहुँ बढिरहेको तापक्रमले विद्यार्थी मात्र नभएर वृद्धवृद्धा, बालबालिका, र कामकाजी मानिसहरूको दैनिकीमा ठूलो असर पुर्याएको छ। तापक्रमको यो वृद्धि र यसको प्रभावलाई नियन्त्रण गर्न र जनस्वास्थ्यको रक्षा गर्न स्थानिय निकायहरूले विभिन्न कदम चालिरहेका छन्।

Back to top