×

वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मीको कारणले बालबालिकाको स्वास्थ्यमा परेको प्रतिकूल असरलाई ध्यानमा राख्दै महानगरका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले असोज ८ र ९ गते सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो ।

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीहरू कक्षाकोठामा नै बेहोस हुन थालेपछि पठनपाठन स्थगित गर्नुपर्ने अवस्था आएको बताए । जारी सूचनामा असोज ८ र ९ गते पर्सा जिल्लाका सबै विद्यालय बन्द रहने उल्लेख गरिएको छ ।

अत्यधिक गर्मीले विद्यार्थीहरूमा असर पर्न थालेपछि यहाँका अभिभावकहरूले सामाजिक सञ्जालमार्फत विद्यालय बन्द गर्न माग गर्दै आएका थिए । पर्सा, बारा लगायतका मध्यतराईका जिल्लाहरूमा असोज महिनामा पनि गर्मी असह्य हुने गरी बढेको छ । यहाँको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुगेको छ, जसका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको छ ।

पर्सा जिल्लाको पोखरिया स्थित जिल्ला उच्चांगल माविमा सोमबार मात्रै ८ जना छात्राहरु गर्मीका कारण बेहोस भएका थिए ।

Back to top