×

वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) की पत्नी सोनी सिन्धु रानीले आफ्नो सुरक्षाको माग गर्दै ललितपुरस्थित प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन्। प्रारम्भमा प्रहरीले उजुरी दर्ता गर्न आनाकानी गरे पनि आइतबार उक्त निवेदन दर्ता भएको छ।

रानीले आफ्ना श्रीमानले बारम्बार धाकधम्की र ज्यान मार्ने धम्की दिएको आरोप लगाएकी छन्। बिहीबार प्रहरी प्रभाग इमाडोलमा सुरक्षाका लागि निवेदन दिन गएकी रानीलाई प्रहरीले शुक्रबार पुनः बोलाए पनि निवेदन आइतबार मात्र दर्ता भएको हो।

रानीले श्रीमान राउतले आफूमाथि मानसिक यातना दिने गरेको र बच्चाहरूसँग पनि छुट्याउने धम्की दिने बताइन्। उनले भनेकी छन्, "श्रीमानले विभिन्न प्रकारका धम्की दिइरहेका छन्। मैले प्रहरीमा सुरक्षाको लागि दिएको निवेदन बल्ल दर्ता भएको छ।"

अध्यक्ष राउतले भने पत्नी रानीसँग सम्बन्ध विच्छेदको माग गर्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। राउतकी पत्नीले भने अहिले श्रीमानलाई छाड्ने मनस्थितिमा नरहेको बताउँदै आएकी छन्। उनले अदालतमा राउतले दायर गरेको मुद्दाको प्रतिउत्तर दिने तयारीमा रहेको जानकारी दिएकी छन्।

राउत दम्पती हाल एउटै भवनको फरक तल्लामा बसिरहेका छन्, भने तीन सन्तान आमा रानीसँग छन्।

राउतको मुद्दा सार्वजनिक भएपछि यसले उनको राजनीतिक करियरमा पनि प्रभाव पार्न सक्ने बताइएको छ। जनमत पार्टीका एक नेताले भने, "डा. राउत सार्वजनिक पदमा रहेका व्यक्ति भएकोले पारिवारिक विवादले उनको छविमा नकारात्मक असर पर्न सक्छ।" यो पारिवारिक विवाद अदालतमा विचाराधीन रहेको छ भने सहमतिको प्रयास जारी छ।

Back to top