×

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय, वनस्थलीमा पार्टीका नेता तथा कार्यकर्ताहरूले सभापति रवि लामिछानेको पक्षमा नाराबाजी गरेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेको आलोचना गर्दै रास्वपाका कार्यकर्ताहरूले पार्टी कार्यालयमा चर्को विरोध प्रदर्शन गरेका छन्, जसका कारण कार्यालय परिसरमा तनाव उत्पन्न भएको छ।

प्रदर्शनकारीहरूको भिड बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी वृत्त बालाजु र वृत्त सोह्रखुट्टेबाट डीएसपी नेतृत्वको टोलीलाई खटाइएको छ। पार्टी कार्यालयमा उपस्थित एक नेताका अनुसार, ‘उपलब्ध सबै नेता पार्टी कार्यालयमै छन्। सभापति लामिछाने पनि कार्यालयमै हुनुहुन्छ। हामी पर्खेर स्थितिको अवलोकन गरिरहेका छौँ।’

रास्वपाका सभापति रवि लामिछानेले आफ्ना कार्यकर्तालाई पार्टी कार्यालयमा उपस्थित हुन भनेका थिए। पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेपछि उत्पन्न परिस्थितिले गर्दा लामिछानेले आफ्ना समर्थकहरूलाई पार्टी कार्यालयमा बोलाएका हुन्। प्रहरीका अनुसार छविलाल जोशीको बयानपछि मात्रै सभापति लामिछानेलाई पक्राउ गर्ने निर्णय गरिनेछ।

प्रदर्शनका कारण कार्यालय परिसरमा स्थिति तनावपूर्ण बनेको छ र थप अप्रिय घटनाहरू रोक्न सुरक्षाकर्मीहरूलाई सतर्क अवस्थामा राखिएको छ।

Back to top