×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राष्ट्रिय कबड्डी खेलाडी सागर यादवको उपचारको विषयमा यात्राडेलीमा समाचार प्रकाशित भएपछि मधेस प्रदेश सरकारले ध्यानाकर्षण गरेको छ।

वीरगञ्जका राष्ट्रिय कबड्डी खेलाडी सागर यादवको उपचारमा सहयोग अभाव, खेलाडी परिवारको गुनासो

मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले सागर यादवसँग प्रत्यक्ष भेटघाट गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। यादव हालै सम्पन्न प्रदेश स्तरीय कबड्डी खेलको क्रममा गम्भीर घाइते भएका थिए, जसका कारण उनको दायाँ खुट्टाको सर्जरी गर्नुपरेको थियो।

लामो समयसम्म सरकारी निकाय र खेल सङ्घहरूले बेवास्ता गरेको यादव परिवारको गुनासोपछि यात्राडेलीले समाचार प्रकाशित गरेको थियो। उक्त समाचारले मधेस प्रदेश सरकारसहित खेलप्रेमीहरूको ध्यान खिच्न सफल भएको छ।

भेटघाटपछि मन्त्री जयसवालले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सागर यादवको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रदेश सरकारबाट यादवको उपचारमा सहयोग गर्ने आश्वासन दिएका छन्। “उपचारमा गर्न सकिने सहयोगका लागि आवश्यक कागजातसहितको निवेदन प्राप्त हुनासाथ प्रक्रिया अघि बढाउने छौँ,” मन्त्री जयसवालले उल्लेख गरेका छन्।

साथै, उनले मधेस प्रदेशका खेलाडीहरूको स्वास्थ्य सुरक्षाका लागि “खेलाडी बिमा” कार्यक्रम आगामी आर्थिक वर्षदेखि लागू गर्ने योजना रहेको पनि जानकारी गराएका छन्। यस कदमले प्रदेशका खेलाडीहरूलाई दीर्घकालीन रूपमा स्वास्थ्य सुरक्षामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Back to top