×

पोखरा। पोखरामा आज विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र नागरिक उड्यन प्राधिकरणका महानिर्देशकको बर्खास्तगीको माग गर्दै व्यापक विरोध प्रदर्शन सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियान, पोखराको आयोजनामा जिल्ला प्रशासन कार्यालय कास्की अगाडि सहिद चोकमा आयोजित धर्नामा १५० भन्दा बढी सहभागी भएका थिए।

विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र प्राविधिक त्रुटिहरूका कारण देखिएको असन्तुष्टिलाई उजागर गर्दै प्रदर्शनकारीहरूले नाराबाजी गरेका थिए। "पोखरा अन्तराष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन गर," "विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गर," "नागरिक उड्यन प्राधिकरणका भ्रष्ट्र महानिर्देशकलाई बर्खास्त गर," र "चिनियाँ ऋणलाई अनुदानमा रूपान्तरण गर" जस्ता मागहरूसहित प्रदर्शन गरिएको थियो।

धर्नाको नेतृत्व राष्ट्रिय एकता अभियानका जिल्ला संयोजक टिका छिरिंगले गरेका थिए। साथै, कार्यक्रममा केन्द्रीय सदस्य ध्रुव चालीसे, केन्द्रीय अध्यक्ष विनय यादव तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

प्रदर्शनकारीहरूले पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माणमा देखिएका प्राविधिक समस्या र भ्रष्टाचारलाई तत्काल समाधान गर्न सरकारलाई दबाब दिएका छन्। साथै, विमानस्थलको निर्माणमा संलग्न संस्थाहरूको छानबिन गरिनुपर्ने माग राख्दै, यस भ्रष्टाचारविरुद्धको संघर्षलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्।

पोखराका स्थानीय नागरिकहरूले पनि भ्रष्टाचारविरुद्धको यो अभियानमा जोडदार रूपमा सहभागीता जनाउँदै सरकारलाई विमानस्थलको पूर्ण सञ्चालनका लागि तत्काल कदम चाल्न चेतावनी दिएका छन्।

Back to top