×

वीरगञ्ज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले ९ सदस्यीय सचिवालय गठन गरेको छ। जसपाले गत साउन २७ देखि ३० गतेसम्म सम्पन्न केन्द्रीय समिति बैठकपछि पूर्णता पाएको कार्यकारिणी समितिको पहिलो बैठकमा सचिवालय गठन गरेको हो।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार नवगठित सचिवालयमा अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष रकम चेम्जोङ, उपाध्यक्ष मृगेन्द्र कुमार सिंह, गोविन्द चौधरी, शिवलाल थापा मगर, विद्युत बज्राचार्य, महासचिव तथा मधेसका पूर्व मुख्यमन्त्री लालबाबु राउत र राजकुमार शर्मा रहेका छन्।

प्रवक्ता सुमनले भने, "केन्द्रीय सचिवालय गठन गर्ने विषय पार्टीको विधानमा उल्लेख थियो। त्यसैअनुसार हिजो शुक्रबार हामीले औपचारिक रूपमा सचिवालय गठन गरेका छौँ।"

साथै, बैठकले कार्यकारिणी समितिमा सदस्य थप्नका लागि सुझाव दिन सचिवालयलाई जिम्मेवारी दिएको छ। जसपा नेपालले पार्टीको केन्द्रीय कार्यालय समिति र केन्द्रीय विभागहरूको पनि गठन गरेको सुमनले जानकारी गराए।

यस्तै, बैठकले आगामी मंसिरमा हुने उपनिर्वाचनको तयारी थाल्न पार्टीका सदस्यलाई निर्देशन दिँदै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ।

 

 

 

4o

Back to top