×

वीरगञ्ज । एभरेस्ट महिला भलिबल लिग प्रतियोगिताको लागि बाराकी मिना चौधरी छनौट भएसँगै मधेश युनाइटेडको टिमले पूर्णता पाएको छ । हरेक समूहले ट्यालेन्ट हन्ट मार्फत एक जना खेलाडी छनौट गर्ने प्रावधानअनुरुप बाराको कोल्हबीकी मिना चौधरी मधेश युनाइटेडका लागि छनौट भएकी हुन् । 

इन्फिनिटी ड्रिम्सको आयोजनामा यही असोज १४–१९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने एभरेस्ट महिला भलिबल लिग प्रतियोगिताको पहिलो संस्करणमा खेल्न शुक्रबार वीरगञ्जको ज्ञानदा एकेडेमीको हलमा ट्यालेन्ट हन्ट भएको थियो । 

बाराको जनशक्ति क्लबबाट खेल्ने जर्सी नम्बर ७ की मिनाले अब मधेश युनाइटेडबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग खेल्ने अवसर पाउने मधेश युनाइटेडकी प्रमुख कार्यकारी अधिकृत संज्ञा श्रेष्ठले जानकारी दिइन् । मिनालाई श्रेष्ठले नै मधेश युनाइटेडमा आवद्ध गरिएको पत्र हस्तान्तरणसँगै छनौट भएकोमा २५ हजार नगद राशी पनि प्रदान गरिन् । 

यसअघि भएको ट्यालेन्ट हन्टमा पनि मिना आवद्ध बाराकै जनशक्ति क्लब बिजयी भएको छ । विजयी समूहलाई मेडल र प्रमाण पनि प्रदान गरिएको मधेश युनाइटेडका सञ्चालक सञ्जय अग्रवालले जानकारी दिए । उनकाअनुसार प्रतियोगितामा सर्लाही द्वितिय भएको छ । पर्साको पर्सागढी नगरपालिकाको जनता मा.वि.को समूह तृतिय हुँदा पर्साकै ठोरी गाउँपालिकाको समूह शान्तवना भएको छ ।

नेपालको राष्ट्रिय खेल भलिवलतर्फ महिला खेलाडीलाई अवसर दिन र महिला खेलाडीको आकर्षण बढाउन ट्यालेन्ट हन्टले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मधेश युनाइटेडका सञ्चालक रोहित अग्रवालको विश्वास छ । 

ट्यालेन्ट हन्ट एवम् एभेरेष्ट महिला भलिवल लिगको ट्रफी अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले मधेश युनाइटेडले मधेशको पहिचान उच्च बनाउने विश्वास व्यक्त गरे । पछिल्लो समय खेलप्रति जनताको आकर्षण पनि बढ्दै गएको हुँदा यसले खेलाडीको पनि हौसला बृद्धि भएको महानगर प्रमुख सिंहको भनाई छ । 

प्रतियोगिामा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेत लगायतको उपस्थिती रहेको थियो । 

प्रतियोगितामा मधेश यूनाइटेडसँगै गण्डकी, ललितपुर, काठमाण्डौ, चितवन शक्ति र कर्णाली गरी कुल ६ वटा टिमले सहभागिता जनाउने छन् । नेपाली राष्ट्रिय टोलीकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअर रहेको मधेश युनाइटेडमा ३ विदेशी खेलाडी पनि अनुबन्धन भइसकेका छन् । काजकिस्तानकी कालिनोभा यभजेनिया,  ट्युनिसियाकी योस्रा जेरामदिनी र भारतीय महिला भलिबल टोलीकी कप्तान जिनी कोभात मधेश युनाइटेबाट खेल्नेछन् । तीन जना विदेशी खेलाडी अनुबन्धन गर्ने मधेश युनाइटेड पहिलो टिम पनि हो । 

राष्ट्रिय टोलीकी संगम महतो र शान्तिकला तामाङसहित काभा यू२० महिला च्याम्पियनसिप खेलेका यू२० राष्ट्रिय टिमकी एलिसा मानन्धर र आशिका क्षेत्री पनि मधेश टोलीमा छन् । राष्ट्रिय टोलीबाट खेलिसकेका पुजा थारु र हिरा केसी टोलीमा छन् । जसना महतो पनि मधेश युनाइटेडको खेलाडी हुन् ।

कार्यक्रममा टिमका सञ्चालक अनुज रूँगटा, दीपेश अग्रवाल, सञ्जय अग्रवाल, विशाल अग्रवालसहित खेलाडी एवम खेलप्रेमीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार निलिमा पौडेलले गरेकी थिइन् । 

इन्फिनिटी ड्रिम्सको आयोजनामा असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा इडब्लुभिएल आयोजना हुँदैछ ।  

Back to top