×

सशस्त्र प्रहरी बल नेपालले रु. १७ लाख २७ हजार मूल्य बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ। पर्साका विभिन्न स्थानबाट भन्सार छली गरेर अवैध रूपमा भित्र्याइएका कपडा, किराना सामान, जुत्ता र औषधि सहितका सामान शुक्रबार नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाबाट ना ५७ प ५३२६ नम्बरको मोटरसाइकलसहित १४ लाख ६४ हजार ७७० मूल्य बराबरको किराना सामान, कपडा, जुत्ता र औषधि बरामद गरेको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिएका छन्। उक्त सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा आवश्यक कारबाहीको लागि दाखिला गरिएको उनले बताए।

यसैगरी, सशस्त्र प्रहरी बलको बिओपी सिर्सिया र अमरपट्टीबाट खटिएको टोलीले क्रमशः २ लाख १० हजार ५१० र ५२ हजार मूल्य बराबरको कपडा नियन्त्रणमा लिई भन्सार कार्यालयमा दाखिला गरेको छ।

सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी भित्र्याइएका सामानमाथि कडा निगरानी गर्दै आवश्यक कारबाही गरिरहेको जनाएको छ।

Back to top